औद्योगिक ग्राम निर्माण सुस्त

डिसी नेपाल
२२ फागुन २०७९ ११:०९

सुर्खेत। कर्णालीमा औद्योगिक ग्राम निर्माण कार्यमा अलमल देखिएको छ। संघीय सरकारले अघि सारेको एक स्थानीय तह एक औद्योगिक ग्राम निर्माण कार्यक्रमअन्तर्गत छनोट भएका स्थानीय तहमा निर्माणले गति लिन नसकेको हो।

सुर्खेतका चार तथा कालिकोट र जाजरकोटका एक-एक पालिकामा औद्योगिक ग्राम निर्माणको घोषणा गरिएको थियो। सुर्खेतको पञ्चपुरी नगरपालिकामा २०७६, भेरीगंगा, चौकुने र गुर्भाकोट नगरपालिका, जाजरकोटको शिवालय गाउँपालिकामा २०७७ सालमा तथा कालिकोटको शुभकालिका गाउँपालिकामा औद्योगिक ग्राम निर्माणका लागि २०७८ सालमा घोषणा गरिएको थियो।

भेरीगंगाको रामघाटस्थित २० विगाह क्षेत्रमा औद्योगिक ग्राम निर्माणका लागि स्थान तोकिएको छ। उक्त क्षेत्रमा हालसम्म घेरबारको काममात्रै भएको छ। गत आर्थिक वर्षमा संघीय सरकारबाट आएको रकमले घेरबार गरिएको र यस वर्ष संघीय सरकारसँग बजेट माग गरे पनि आइनसकेको नगर प्रमुख यज्ञप्रसाद ढकालले जानकारी दिए।

यस्तै पञ्चपुरी नगरपालिकाको वडा नं ६ र ८ को बीचमा पर्ने दुलालथाईमा औद्योगिक ग्राम निर्माणका लागि पाँच सय रोपनी जग्गा छुट्याइएको छ। उक्त क्षेत्रमा हालसम्म कार्यालयका लागि चारकोठे भवन, चमेना गृह, शौचालय निर्माण भएको पञ्चपुरी नगरपालिकाका प्रमुख लालवीर भण्डारीले जानकारी दिए। सडक, घेरबारलगायतका काम बाँकी रहेको नगरप्रमुख भण्डारीको भनाइ छ।

चौकुने गाउँपालिकाको वडा नं ५ स्थित मायाताल औद्योगिक ग्राम निर्माण थालिएको छ। १० बिघा जग्गा छुट्याएर औद्योगिक ग्राम निर्माण थालिए पनि हालसम्म घेराबार, शौचालय र एक वटा कार्यालय भवनमात्रै निर्माण भएको छ। अघिल्लो वर्ष आएको बजेटले भवन र शौचालय निर्माणको काम भए पनि रकम अभावमा अन्य काम अघि बढ्न नसकेको गाउँपालिकाका अध्यक्ष खड्क विकले जानकारी बताए।

पर्याप्त बजेट नहुँदा औद्योगिक ग्राम निर्माणमा समस्या भएको अध्यक्ष विकको भनाइ छ। उद्योग सञ्चालनका लागि पानी, विद्युतजस्ता पूर्वाधारको तत्काल आवश्यता रहेको उनले बताए । जाजरकोटको शिवालय गाउँपालिकाले वडा नं‍. ४ मा औद्योगिक ग्रामका लागि ४८ रोपनी जग्गा छुट्याएको छ। औद्योगिक ग्राम निर्माणकार्य भने सुस्त छ।

चालू आर्थिक वर्षका लागि बजेट आएको छैन। बजेट नआउँदा समयमै निर्माण हुन नसकेको गाउँपालिकाका अध्यक्ष शेरबहादुर शाही बताउँछन्। कालिकोटको शुभकालिका गाउँपालिकाले पनि वडा नं. ४ राराकाटियाँ भन्ने ठाउँमा जग्गा छनोट गरेको छ। गत आर्थिक वर्षमा पूर्वाधार निर्माणका लागि ठेक्का सम्झौता भए पनि काम भने सुरु हुन सकेको छैन।

निर्माण सुरु गर्नका लागि ठेकेदार कम्पनीसँंग छलफल गरेको र चाँडै सुरु हुने शुभकालिका गाउँपालिकाका अध्यक्ष गोविन्दप्रसाद आचार्यले बताए । “गत वर्ष आएको बजेटले पूर्वाधार निर्माण गर्नका लागि ठेक्का सम्झौता भएको छ,” उनले भने, “ठेकेदारले निर्माण सुरु नगर्दा ढिलो भएको छ हामीले पटकपटक काम सुरु गर्न भनेका छौं अब चाँडै सुरु हुन्छ।”

कर्णाली प्रदेश सरकारले पनि औद्योगिक ग्राम निर्माणमा साझेदारीका लागि बजेट छुट्याउने गरेको छ । कार्यान्वयन नहुँदा वर्षेनी बजेट फ्रिज हुने गरेको छ । चालू आर्थिक वर्षमा पनि औद्योगिक ग्रामका लागि ३० लाख रुपैयाँ विनियोजन गरिएको छ । मन्त्रिपरिषद्को निर्णयका आधारमा उक्त रकम खर्च हुने मन्त्रालयले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *