स्ववियु निर्वाचनः आजदेखि प्रचारप्रसार सुरु

डिसी नेपाल
२९ फागुन २०७९ २२:१३
16
Shares

काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि आज उम्मेदवारीको अन्तिम नामावली प्रकाशन गरिएको छ।

यही फागुन २७ गते उम्मेदवार मनोनयन गराएका उम्मेदवारको छानविन र उम्मेदवारी फिर्ता गरेपछि अन्तिम नामावली प्रकाशन गरिएको हो। आज फागुन २९ गते दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता र दिउँसो २ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको थियो।

आज अन्तिम नामावली प्रकाशन भएसँगै अब उम्मेदवार प्रचारप्रसार गर्न पाउनेछन्। त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीका अनुसार उम्मेदवारले आजदेखि चैत २ गते राती १२ बजेसम्म प्रचारप्रसार गर्न पाउनेछन्।

स्ववियु निर्वाचनमा आचारसंहितामा प्रचारप्रसार गर्नका लागि रङ्गरोगन र कुनै पनि प्रकारको पोस्टर टाँस्न नपाइने उल्लेख छ।

यस्तै आचारसंहितामा निर्वाचनसम्बन्धी कुनै पनि तुल, फ्लेक्स र कुनै प्रकारको पोस्टर टाँस्न नपाइने उल्लेख गरिएको छ। स्ववियु निर्वाचन केही क्याम्पसमा भर्ना विवादका कारणले रोकिएका छन्। उनले सम्बन्धित क्याम्पस प्रमुखलाई भर्ना विवाद समस्या समाधान गरेर निर्वाचन प्रक्रिया सुरु गर्न निर्देशन दिएको जानकारी दिए ।

अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणाली र उपाध्यक्ष, सहसचिव र ५० प्रतिशत सदस्य समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुनेछन्। स्ववियु निर्वाचनका लागि मतदान चैत ५ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म तोकिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.