सत्ता गठबन्धनको उपराष्ट्रपतिमा आधिकारिक उम्मेदवार को हो ?
काठमाडौं। चैत ३ गते निर्धारित उपराष्ट्रपतिको निर्वाचनका लागि सत्ता गठबन्धनबाट उम्मेदवारी दिएका तीन जनामध्ये दुई जनाले उम्मेदवारी कायमै राखेका छन्।
सत्ता गठबन्धनकै दुई घटक जनता समाजवादी पार्टी र जनमत पार्टीले आ-आफ्नै उम्मेदवारी दिएका छन्। सत्ता गठबन्धनकै जसपाबाट दुई जनाले उपराष्ट्रपतिमा शनिबार मनोनयन दर्ता गरेका थिए।
जसपाकै उम्मेदवार प्रमिला कुमारी यादवले सोमबार उम्मेदवारी फिर्ता लिएको औपचारिक घोषणा गरिसकेकी छिन्। उनले जसपाबाट उम्मेदवार दिएका रामसहायप्रसाद यादवलाई समर्थन गर्ने गरी उम्मेदवारी फिर्ता लिएकी हुन्। यद्यपि सत्ता गठबन्धनकै जनमत पार्टीबाट उम्मेदवार दिएकी ममता झाको उम्मेदवारी यथावत नै रहेको छ।
सत्तागठबन्धनले साझा उम्मेदवार चयन गर्न नसक्दा हालसम्म आधिकारिक उम्मेदवार यकिन हुन सकेको छैन। तथापि सबैले आ आफ्नै पार्टीका उम्मेदवारलाई आधिकारिक घोषणा गरेका छन्।
उम्मेदवारी मनानयनको क्रममा जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले आफ्नो पार्टीबाट उम्मेदवारी दिएकी झा नै आधिकारिक उम्मेदवार भएको बताएका थिए।
उनले गठबनधनमा सहमति भएर साझा उम्मेदवार झा नै हुने उनको दाबी थियो। तथापि गठबन्धनले आफ्नो पार्टीको साझा उम्मेदवार तय नगरे पार्टीले एकल उम्मेदवारी दिने उनले सार्वजनिक अभिब्यक्ति दिएका थिए।
यही सन्दर्भमा राष्ट्रपति र उपराष्ट्रपति फरक लिङगको हुनुपर्ने निर्वाचन आयोगको धारणा सार्वजनिक भइसकेपछि सत्ता गठबन्धनमा साझा उम्मेदवारी चयन गर्न सकस भएको बताइन्छ।
सोही अनुसार गठबन्धनमा पूर्ववत सहमति अनुसार उपराष्ट्रपति जसपालाई नै दिने सहमति बमोजिम रामसहायप्रसाद यादवले उम्मेदवारी दिने अन्तिम तयारीमा थिए। निर्वाचन आयोगले महिला उम्मेदवार मात्रै सदर गर्ने संशयले जसपाले अर्की उम्मेदवारलाई विकल्पको रुपमा खडा गरेको बताइन्छ।
तर, निर्वाचन आयोगले महिला उम्मेदवार नै उपराष्ट्रपतिको उम्मेदवार बन्नै किटानका साथ उल्लेख नगरेकाले सत्ता गठबन्धनकै तीन जनाको उम्मेदवारी यथावत रहेको हो।
एमालेबाट अष्टलक्ष्मी शाक्यले उम्मेदवारी दिएकी छन्। उनको उम्मेदवारीसँगै पुरुष उम्मेदवारको विरुद्धमा निर्वाचन आयोगमा उजुरी दिइएको थियो तर आइतबार निर्वाचन आयोगले सबैको उम्मेदवारी कायम रहने निर्णय गरेको हो।
सत्ता गठबन्धनबाट दुई जना उपराष्ट्रपतिका उम्मेदवार यथावत रहेसँगै आधिकारिक उम्मेदवारको अन्यौलता देखिएको छ । आन्तरिक किचलो उत्पन्न हुने आशंकाले गठबन्धनले औपचारिक रुपमा आधिकारिक उम्मेदवार टुंगो लगाउन नसकेको बताइन्छ।
पूर्ववत सहमति अनुसार उपराष्ट्रपतिको सत्ता गठबन्धनको आधिकारिक उम्मेदवार जसपाका रामसहाय यादव रहेको नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का बताउँछन्। उनले पहिल्यैकै सहमति कायम रहेको हुँदा गठबन्धनको उम्मेदवार जसपाकै रहेकोमा कुनै द्विविधा नरहेको प्रष्ट पारे।
उनले डिसी नेपालसँग भने, ‘गठबन्धनको पूर्वसहमति यथावत नै छ। सोही अनुसार जसपाको उम्मेदवार नै सत्ता गठबन्धनको आधिकारिक उम्मेदवार हो।’
गठबन्धनले उपराष्ट्रपतिको आधिकारिक उम्मेदवार जसपाका रामसहाय यादवलाई तय गरेको उनको भनाइ छ।
सत्ता गठबन्धनको बैठकले चाँडो सार्वजनिक रुपमा जसपाका यादवलाई आधिकारिक उम्मेदवारक रहेको घोषणा गर्ने उपसभापति खड्काले जानकारी दिए । उनले भने, ‘अब तत्कालै गठबन्धनको बैठकले आधिकारिक उम्मेदवार जसपाकै रहेको औपचारिक घोषणा गर्ने तयारीमा छौं।’







डिसी नेपाल







Facebook Comment