विश्वासको मतबारे निर्णय गर्न रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बस्दै
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति र संसदीय दलको बैठक बस्ने भएको छ ।
पार्टीका महामन्त्री एवम् प्रवक्ता डा मुकुल ढकालले समसामयिक राजनीतिक घटनाक्रममा छलफल गर्न आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा संयुक्त बैठक बस्न लागेको जानकारी दिए ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भोलि (सोमबार) प्रतिनिधिसभामा विश्वासको मत लिने तयारी गरेसँगै रास्वपाले त्यसबारे निर्णय लिनका लागि आज बैठक बोलाएको प्रवक्ता डा ढकालको भनाइ छ ।
रास्वपाले सरकारबाट हटेपनि सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन । प्रदेशसभा निर्वाचनमा भाग नलिएको रास्वपाबाट प्रतिनिधिसभामा भने १९ सांसदको प्रतिनिधित्व छ ।
पछिल्लो समय हरेक महत्वपूर्ण राजनीतिक विषयमा रास्वपाले अनिर्णीत प्रवृत्ती देखाउँदै आएको छ । राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको मतदानकै क्रममा मतदान गर्ने उम्मेदवारको टुंगो अन्तिम समयमा लगाएको थियो। राष्ट्रपतिको निर्वाचनमा कांग्रेसका रामचन्द्र पौडेललाई मत दिएको रास्वपाले उपराष्ट्रपतिमा जनमत पार्टीकी ममता झालाई मत दिएको हो ।
गत माघ २२ गते सरकारबाट बाहिरिएको रास्वपाले हालसम्म सरकारलाई दिएको समर्थन कायमै राखेको छ । फेरि सरकारमा सामेल हुने मनशायले समर्थन कायमै राखेको बताइन्छ । तर, सरकारलाई विश्वासको मत दिने औपचारिक निर्णय गर्न सकेको छैन ।







डिसी नेपाल







Facebook Comment