मनोनयन पेश गर्न जाँदा २५ जना भन्दा बढीको जुलुस लिएर जान नपाइने

डिसी नेपाल
१९ चैत २०७९ २०:१९
20
Shares

काठमाडौं। निर्वाचन आयोगले उपनिर्वाचनका लागि सोमबार मनोनयन पेश गर्न जाँदा व्यानर, झण्डा, बाजागाजासहित जान नपाइने जनाएको छ। आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आइतबार आयोगको तर्फबाट विज्ञप्ति जारी गर्दै सो निर्देशन जारी गरेका हुन्।

आयोगले भोलि सोमबार उप निर्वाचनका लागि मनोनयन दर्ता गर्ने समय निर्धारण गरेको छ। चितवन क्षेत्र २, तनहुँ क्षेत्र १ र बारा क्षेत्र २ का लागि भोलि मनोनयन दर्ता हुँदैछ। भोलि विहान १० देखि अपरान्ह ५ बजेसम्म उम्मेदवारी दर्ता गर्न पाइने समय आयोगले निर्धारण गरेको छ।

आयोगद्वारा जारी निर्देशनअनुसार निर्वाचनमा उम्मेदवारको मनोनयनपत्र पेश गर्नजाँदा उम्मेदवार, प्रस्तावक र समर्थकसहित बढीमा २५ जना भन्दा बढीको जुलुस लिएर जान नहुने भनिएको छ।

त्यस्तै बाजागाजा, झाँकी तथा निर्वाचन आचारसंहिता, २०७९ विपरितका व्यानर, चिन्ह र झण्डासहित जान नहुने आयोगले प्रष्ट पारेको छ।

सोहीअनुसार उम्मेदवारको पहिचान झल्किने लोगो, टीका, चिन्ह, टिसर्ट, ज्याकेट, कमिज, ब्याज, मास्क, लकेट, झोला, टोपी, गम्छा, ब्यानर, प्लेकार्ड प्रयोग न गर्न आयोगले निर्देशन दिएको छ।

आयोगका प्रवक्ता पौडेलका अनुसार मनोनयन स्थलमा उम्मेदवारको पक्षमा नारा जुलुस, भाषण र प्रतिष्पर्धीलक्षित गालिगलौज र टिकाटिप्पणी गर्न पाइने छैन।

त्यस्तै, मनोनयनको समयमा सरकारी वा अर्धसरकारी निकाय वा सार्वजनिक संस्थाको वा अन्तर्गतको कुनै परियोजनाको स्रोत साधन र सम्पति प्रयोग गर्न नहुने आयोगले जनाएको छ।

नेपाल सरकार, प्रदेश सरकार, मन्त्री र स्थानीय कार्यपालिका तथा सोका पदाधिकारीले उम्मेदवारको मनोनयनमा सहभागी हुन नहुने आयोगले भनेको छ।

यसैबीच, मनोनयनका समयमा बालबालिककाको प्रयोग गर्न गराउन नहुने, संवैधानिक निकाय तथा सोका पदाधिकारीले कुनै राजनीतिक दल वा उम्मेदवारलाई आफ्नो सवारी साधन वा अन्य सामग्री प्रयोग गर्न दिन नहुने, हेलिकप्टर प्रयोग गरी राजनीतिक दल वा उम्मेदवारले उम्मेदवारी मनोनयन गर्न जान नहुने आयोगले जनाएको छ।

त्यस्तै नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तह अन्तर्गतका निकाय, अर्धसरकारी तथा सार्वजनिक संस्था र सोमा कार्यरत कर्मचारी उम्मेदवारी मनोनयनको क्रममा राजनीतिक दल वा उम्मेदवारसँग सहभागी हुन नहुने आयोगले निर्देशन गरेको छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.