उम्मेदवारी दर्तापछि रविले भने-निर्वाचित हुनेमा आशावादी र उत्साहित छु

डिसी नेपाल
२० चैत २०७९ १२:२१
104
Shares

चितवन। आगामी वैशाख १० मा हुन लागेको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा चितवन क्षेत्र नं २ बाट उम्मेदवारी दर्ता गरेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलेले निर्वाचन स्वच्छ र स्वस्थ प्रतिस्पर्धामा होस् भन्ने चाहना रहेको बताएका छन्।

प्रतिनिधिसभाको निर्वाचन भएको चार महिनापछि निर्वाचन हुनु दुःखद् भएको उनकाे भनाइ थियाे। आफू निर्वाचनका लागि उत्साहित भएको उनको भनाइ थियो। निर्वाचनलाई निर्वाचनकैरुपमा लिएको बताउँदै उनले आफू निर्वाचित हुनेमा आशावादी र उत्साहित रहेको बताए।

मुलुकको समृद्धि, सुशासन, राजनीतिमा एउटा शुद्धता, आगामी पुस्ताको सुन्दर भविष्य कोर्न तथा लोकतन्त्रका लागि आफ्नो उम्मेदवारी रहेको उनको दाबी छ। लामिछानेले उपचुनाव हुनुमा आफूले पनि नैतिक जिम्मेवारी लिने बताए। “उपचुनाव हुनुमा मेरो भागमा परेको जिम्मेवारी म लिन तयार छु”, उनले भने।

नागरिकता प्रकरणमा आफू उम्मेदवार हुन नपाउने भन्ने तर्क गलत भएको भन्दै उनले भने, “मैले अमेरिकाको नागरिकता सन् २०१८ मै त्यागेको हो। संविधानमा त्यसरी त्यागेको मितिले तीन महिना भनेकाले त्यसले मलाई असर गर्दैन।”

उपनिर्वाचनका लागि चितवन क्षेत्र नं २ मा उमेदवारी दर्ता गर्ने उनी पहिलो भएको सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यले जानकारी दिए। लामिछाने यसअघि गत मङ्सिरमा समपन्न प्रतिनिधिसभा निर्वाचनमा यसै निर्वाचन क्षेत्रबाट विजयी भएका थिए।

नागरिकता मुद्दामा सर्वोच्च अदालतको फैसलाले उहाँको सांसद पद गुमेपछि यो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो । गत चुनावमा लामिछानेले ४९ हजार दुई सय ६१ मत प्राप्त गरेका थिए भने प्रतिस्पर्धी नेपाली कांग्रेसका उमेश श्रेष्ठले १५ हजार ९९ र नेकपा (एमाले)का कृष्णभक्त पोख्रेलको १४ हजार छ सय ४९ मत प्राप्त गरेका थिए।
चितवन क्षेत्र नं २ मा यसपटक एक लाख २४ हजार छ सय ९५ जना मतदाता छन् । उनीहरुले ४३ स्थलका एक सय ३८ केन्द्रमा मतदान गर्नेछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.