भीम रावल र एमाले वार्ता टोलीबीचको छलफल सकारात्मक, एमालेमै रहने रावलको प्रष्टोक्ति
काठमाडौं। नेकपा(एमाले)ले विद्रोही नेता भीम रावलसँग वार्ता गर्न गठित समितिमार्फत छलफल थालेकोे छ । आइतबार दिउँसो एमाले पार्टी मुख्यालय च्यासलमा एमालेबाट रावलसँग वार्ता गर्न गठित समिति र रावलबीच छलफल भएको हो ।
वार्ता टोलीका संयोजक उपाध्यक्ष विष्णु पौडेलसहित अर्का सदस्य नेता कर्णबहादुर थापा र विद्रोही नेता रावलबीचको छलफल सकारात्मक भएको नेताहरुले बताएका छन् ।
लामो समयदेखि एमाले नेता रावल पार्टीभित्र असन्तुष्ट रहँदै अध्यक्ष केपी शर्मा ओलीको कायशैलीको खराे आलोचना गर्दै आएका थिए ।
आइतबार दुबै पक्षबीच भएको छलफलमा असहमतिहरुलाई सम्बोधन गर्दै पार्टीलाई थप सुदृढ गर्ने सहमति भएको वार्ता टोलीका सदस्य कर्णबहादुर थापाले डिसी नेपाललाई जानकारी दिए ।
उनले नेता रावलका असन्तुष्टि र पार्टीका कमजोरीलाई छलफल गरेर टुंगोमा पुर्याउने दुबै पक्षबीच सहमति भएको बताए ।
वार्ता टोलीका सदस्य रहेका एमाले नेता थापाले भने, ‘छलफल सकारात्मक भएको छ । दुबै पक्षबाट भएका कमीकमजोरीलाई सच्याएर जान सहमत भएका छौं।’
उनले दुबै पक्षका कमीकमजोरीलाई औंल्याएर आत्माआलोचित हुँदै आगामी दिनमा सुधार गर्न तयार रहेको बताए । नेता रावलले एमालेमै रहेर पार्टीलाई थप सुदृढ गर्न सहमत भएको थापाको भनाइ छ ।
आइतबारदेखि सम्वाद थालेको वार्ता समितिले आगामी दिनमा छलफललाई निरन्तरता दिँदै निष्कर्षमा पुर्याउने एमाले नेता थापाले जिकिर गरे।
एमालेको दशौं महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीविरुद्ध उम्मेदवारी दिएका रावल पराजित भएपछि पार्टी नेतृत्वको आलोचना गर्दै आएका थिए।
सोही समयदेखि पार्टीमा भूमिकाविहीन देखिएका रावलसँग वार्ता गर्न एमालेले गएको चैत १८ गते विष्णु पौडेलको संयोजकत्वमा लेखराज भट्ट र कर्णबहादुर थापा सदस्य रहेको तीन सदस्यीय वार्ता समिति गठन गरेको हो ।
महाधिवेशनपछि पार्टीमा उचित जिम्मेवारी नपाएका रावललाई एमालेले केन्द्रीय सल्लाहकार समिति सदस्यमा मनोनित गरेको थियो । तथापि उनले उक्त जिम्मेवारी सार्वजनिक रुपमा अस्वीकार गर्दै आएका थिए ।







डिसी नेपाल








Facebook Comment