यही व्यवस्थाबाट रुपान्तरण हुन्छ भनेर पत्याइरहँदा मुलुक झन् बर्बाद हुनेछ:राप्रपा अध्यक्ष लिङ्देन

डिसी नेपाल
४ वैशाख २०८० ७:४१
88
Shares

फिदिम। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले जनता मुलुकको सुधार परिवर्तन गर्छौं भनेर झुक्याउने ‘नक्कली’को फेला पर्दा मुलुक पतनको दिशामा गएको टिप्पणी गरेका छन्।

जनतालाई कुनै राहत नदिई सत्ता स्वार्थमा लागेका दलका पछि जनता लाग्दा मुलुक गम्भीर संकटको डिलमा पुगेको लिङ्देनको भनाइ छ।

राप्रपा, जिल्ला कार्यसमिति पाँचथरले आइतबार फिदिम स्थित जिससको शहीद मञ्चमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व उपप्रधानमन्त्री लिङ्देनले जनता पुनः नक्कलीको फेला पर्न नहुने बताए।

आफ्नो पैतृक थलो पाँचथर आएका लिङ्देन उक्त कार्यक्रममा विभिन्न दलबाट ठूलो संख्यामा युवाहरु प्रवेश गरेपछि उत्साहित देखिएका थिए। मुलुकमा अहिलेकै ब्यवस्था र प्रवृत्ति ठीक छ भन्ने र ठीक छैन् भन्ने दुई कित्तावीच संघर्ष चलिरहेको बताउँदै लिङ्देनले अहिलेको ब्यवस्थाले जनताको अवस्थामा परिवर्तन गर्दैन भन्ने निश्कर्ष राप्रपाको रहेको र सो कुरा बारम्बार पुष्टि भइरहेको दाबी पनि गरे।

आम क्षेत्रमा समस्या भोग्नु परेपछि जनतामा विकल्प नखोजी भएन भन्ने छटपटि रहेको तर त्यो छटपटिले उपयुक्त विकल्प नभेट्टाउँदा ‘तावाबाट उम्केको माछा भुँग्रोमा पर्छ’ भने झैं भएको लिङ्देनको भनाइ छ।

संवैधानिक राजतन्त्र, संघीयताको खारेजी तथा सनातन हिन्दू राष्ट्रको पक्षधर राप्रपा अध्यक्ष लिङ्देनले वर्तमान ब्यवस्थाका पक्षधर दलहरुलाई ‘नक्कली’को संज्ञा दिनुभएको हो। “ठिक ढंगले पहिचान गर्न नसक्दा जनता नक्कलीको फेला परे”, उनले भने, “जनता पटक-पटक नक्कलीका फेला परेका छन्। फेरि नक्कलीको फेला पर्नु हुँदैन। ”

कोशी प्रदेश नामाकरणविरुद्धको आन्दोलनलाई संकेत गर्दै अध्यक्ष लिङ्देनले जनतालाई जातअनुसारको राज्य दिन्छु भन्नेहरु सत्ताको नेतृत्वमा हुँदा पूर्वका लिम्बूहरु लिम्बुवानको लडाईं लडिराख्नु परेको बताउँदै यस्तो लडाईं लड्नुपर्ने दिन किन आयो? भन्ने प्रश्न गरे।

यही ब्यवस्थाबाट मुलुकमा सुधार हुन्छ भन्नु र प्रश्न उठाउँदा प्रतिगमन हुन लाग्यो भन्नु हास्यास्पद भएको उनको टिप्पणी छ। अध्यक्ष लिङ्देनले ऋण काढेर कर्मचारी र जनप्रतिनिधि पाल्नुपर्ने तथा चालु खर्च चलाउन ऋण उठाउनुपर्ने स्थिति सामान्य नभएको बताए।

“सरकार स्वयंले संकलित राजश्वले कर्मचारीलाई तलव खुवाउन नसकिएको बताउँछ। अर्थतन्त्रमा सुधार गर्न नसक्नु, अर्थतन्त्र सञ्जिती घट्दै जानु, ब्यवसायी पलायन हुनुपर्ने अवस्था ठूला राजनीतिक दलका कारण सिर्जना भएको हो। ठूला दल सत्तालाई पहिलो र प्राथमिक विषय बनाएर हिँडेका कारण यो स्थिति सिर्जना भएको हो”, उनले भने।

शिक्षा, स्वास्थ्य, न्यायालय, प्रशासन सबैमा भद्रगोलको स्थिति सिर्जना भएको, संस्थानहरु समेत बजारमा पैसा पठाउनुको सट्टा ब्याजमा लगाएर गफ हानेर बसेको, ऋणीहरुले ऋण नपाएको अवस्थाप्रति गम्भीर हुन उनले आग्रह गरे।

“हामीले ठिक ढंगले दबाव सिर्जना गर्न सकेनौं भने देश पतनको बाटोमा जान्छ। पतनबाट रोक्न जनता जाग्न जरुरी छ”, लिङ्देनले भने, “संकट समाधान गर्न ब्यवस्था परिवर्तन आवश्यक छ । हाम्रो दबाव ब्यवस्था परिवर्तनका लागि हुन्छ।”

सामान्य रुपमा देशको अवस्था ठिकठाक देखिएको, विकास र पूर्वाधार निर्माण भएको देखिएको तर देश ठीक अवस्थामा अघि बढ्न नसकेको, देश ओरालो लाग्ने क्रम निरन्तर रहेको बताउँदै लिङ्देनले देशले कुन समयमा घुँडा टेक्छ भन्ने टु्गाे नभएको बताएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.