प्रमुख दलले नाम नदिँदा संसदीय समिति गठनमा ढिलाइ
बिहीबारसम्म नाम दिन सभामुखको आग्रह
काठमाडौं। प्रमुख दलले संसदीय समितिमा रहने सांसदहरुको नाम उपलव्ध नगराएपछि समिति गठनमा ढिलाई हुने भएको छ।
सिंहदरबारमा बुधबार बसेको प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समिति बैठकमा कांग्रेस लगाएतका दलहरुले समितिमा रहनेहरुको नाम दिन ढिलाई गरेपछि त्यसको असर समिति गठनमा परेको हो।
कांग्रेस लगाएतका दलले समितिका रहनेहरुको नाम बुझाउन बिहीबारसम्मको समय माग गरेका छन्। परामर्श समिति बैठकपछि एमाले प्रमुख सचेतक पदम गिरीले समितिमा रहने सांसदहरुको नाम बुझाउन केही दलले समय मागेको बताए।
संवैधानिक परिषद् सम्बन्धी विधेयकलाई सदनमा पेश गर्ने बिषयमा पनि परामर्श समितिमा सहमति जुट्न नसकेको र यस बिषयमा पुन छलफल हुने जानकारी दिए।
त्यस्तै कांग्रेस मुख्य सचेतक रमेश लेखकले संसदीय समिति गठनका बिषयमा यसअघि दलहरुबीच भएको सहमतिकै आधारमा समितिलाई पूर्णता दिने बिषयमा छलफल भएको र चाँडो भन्दा चाँडो यसलाई टुङ्गोमा पुर्याउने बताए।
बैठकमा सभामुख देवराज घिमिरेले संसदलाई प्रभावकारी बनाउनका लागि संसदीय समितिमा रहनेहरुको नाम बिहीबारसम्म बुझाउन आग्रह गरेका थिए।
समिति गठन गरिँदा संसदलाई प्रभावकारी बनाउन सकिने बताएका उनले तर, बुधबार सबैको नाम प्राप्त हुन नसकेकाले बिहीबारसम्म दिन आग्रह गरेका हुन्।
‘संयुक्त, विषयगत, विशेष समितिमा प्रतिनिधित्व गर्ने सांसदहरुको नाम दिनुभयो भने संसदलाई प्रभावकारी बनाउन सकिन्छ,’ उनले भने, ‘भोलिसम्ममा नाम दिनुहोला। आज नाम दिनुभएको भए आजै घोषणा गर्न सकिन्थ्यो । तर, सबैको नाम प्राप्त हुन सकेन।’







डिसी नेपाल








Facebook Comment