देवघाटलाई धार्मिक पर्यटनको केन्द्र बनाउँछुः सांसद वाग्ले

डिसी नेपाल
१३ वैशाख २०८० २१:४७
576
Shares

दमौली। तनहुँ क्षेत्र नम्बर १ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य डा स्वर्णिम वाग्लेले देवघाटलाई धार्मिक पर्यटनको केन्द्र बनाउने प्रतिबद्धता जनाएका छन्।

प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि आज देवघाटका मतदातालाई धन्यवाद दिन पुगेका वाग्लेले देवघाटलाई देशकै प्रमुख धार्मिक पर्यटनको केन्द्र बनाई देश तथा विदेशबाट धेरैभन्दा धेरै पर्यटक भित्र्याउने गरी काम गर्ने उल्लेख गरे ।

धार्मिक आस्थालाई आर्थिक समृद्धिसँग जोड्न सकिने भन्दै वाग्लेले देवघाट गाउँपालिकाका पिछडिएको क्षेत्रलाई विकासको मूलधारमा ल्याउने आफ्नो प्राथमिकता रहेको बताए ।

प्रतिनिधिसभा सदस्य वाग्लेले राजनीतिलाई मागी खाने भाँडो बनाउने प्रवृत्तिको अन्त्य रास्वपाले गर्ने बताए । टीका लगाएर पद पाउने मोडलले राजनीतिलाई भ्रष्ट बनाएको बताउँदै उनले भने, “कुनै ठाउँको टिकट दिनुपर्दा माथिबाट टीका लगाएर पठाइदिने होइन, सम्बन्धित ठाउँका जनताले त्यहीबाट छान्ने हो ।”

अन्य क्षेत्रमा नाम कमाएर सफल भएकालाई भित्र्याएर बढीमा दुई पटक अवसर दिने परम्परा सुरु गरिने बताउँदै उनले भने, “एउटै मान्छे आजीवन लडिरहने प्रवृत्तिको अन्त्य गरिनेछ । कार्यकर्ताको भद्दा संरचनाले विकृति बढाएको छ । रास्वपा त्यसतर्फ जाँदैन ।”

सो अवसरमा सांसद वाग्लेलाई देवघाटका धार्मिक प्रतिष्ठान, विभिन्न सङ्घसंस्था तथा सर्वसाधारणहरुले स्वागत एवं बधाई दिएका थिए । राष्ट्रिय स्वतन्त्र पार्टी देवघाटका संयोजक बलबहादुर क्षेत्रीलगायतका नेताले सांसद वाग्लेसमक्ष देवघाटका समस्याको बारेमा जानकारी गराएका थिए।

डा वाग्लेले मङ्गलबार व्यास नगरपालिका, भानु नगरपालिका, बन्दीपुर गाउँपालिका र आँबुखैरेनी गाउँपालिकाका विभिन्न ठाउँमा पुगेर मतदातालाई धन्यवाद ज्ञापन गरेका थिए । वैशाख १० गते सम्पन्न उपनिर्वाचनबाट ३४ हजार नौ सय ११ मत प्राप्त गरी डा वाग्ले प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.