मेरो भारत भ्रमणमा विद्युत् निर्यातबारेमा सम्झौता हुनेछः प्रधानमन्त्री

डिसी नेपाल
२६ वैशाख २०८० १६:१४
400
Shares

काभ्रे। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचार नियन्त्रणका लागि एउटा नयाँ लडाइँ सुरु भएको बताउँदै त्यसका निम्ति जनयुद्धको जस्तै साथ पार्टी र आफूलाई चाहिएको बताएका छन्।

काभ्रे जिल्लाको महाभारत गाउँपालिकामा सडक तथा ग्रामिण विद्युतीकरण कार्यक्रमको आज शिलान्यास गर्दै प्रधानमन्त्री प्रचण्डले उक्त कुरा बताएका हुन्।

प्रधानमन्त्री प्रचण्डले विकास र समृद्धि बिना अन्यायको अन्त्य र समाजवादको नयाँ युग सुत्रपात गर्न नसकिने उल्लेख गर्दै भने, ‘त्यसमा पनि तपाईंहरुको हिजोको जस्तो साथ सहयोग आवश्यक छ। म तपाईहरुसँग अपील गर्न चाहन्छु ।’

आफूले सरकारको नेतृत्व सम्हालेदेखि नै तीन वटा शब्दलाई बढी महत्व दिएको बताउँदै भने, ‘अन्यायमा परेकालाई न्याय चाहियो। समानता चाहियो। तिनिहरुलाई पनि अधिकार चाहियो। सामाजिक न्याय भनेको त्यहि हो । सुशासन भनेको हाम्रो देशमा विसंगति, विकृति र भ्रष्टाचारले विकराल रुप लिएको छ। जबसम्म भ्रष्टाचारलाई अन्त्य गरिँदैन नेपाली जनताले सुख र समृद्धिको दिन देख्न पाउने छैनन्।’

जनता सबैको साथ र सहयोगसहितको प्रतिबद्धता भए अबका ५ वर्षमा एउटा रेकर्ड बनाउने उनको बिश्वास छ। प्रधानमन्त्रीले लोडसेडिङको युगबाट विद्युत बिक्री गर्ने युगमा आएको बताउँदै आशन्न भारत भ्रमणमा बिद्युत बिक्री र उत्पादनका विषयहरुमा केही नयाँ सहमति सम्झौता हुने स्थिति रहेको जानकारी दिए। यो सबै नेपालीका निम्ति खुसी र गर्वको कुरा भएको उनको भनाई थियो।

उनले भने,’जुनजुन प्रदेश हिजोको राज्यबाट पछाडि पारिएको थियो, म तिनै प्रदेशमा विकास निर्माण गति दिन बढी जोड गरेको छु। म प्रधानमन्त्री भएपछि सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशलाई हिजो सामन्ती राज्यले बढी विभेदमा पार्यो तिनै प्रदेशमा मैले बढी ध्यान दिएको छु। काठमाडौं वरिपरि नै भएपनि हिजोको राज्यसत्ताले पछाडि पारेका क्षेत्रहरु अर्थात पालिकाहरुलाई विकासमा अगाडि ल्याउने हाम्रो प्रतिवद्धता छ । त्यहि प्रतिवद्धता अन्तर्गत नै अबका ५ वर्षमा यो क्षेत्रमा भएको विकास निर्माणले पर्यटकहरु ओहिरिने छन् । हिजोको राज्यले काठमाडौंको यति नजिकै भएर पनि यहाँका नागरिकलाई विकासबाट बञ्चित गरायो । यहाँका नागरिकले कुनै पनि सुविधा पाएनन् । त्यहि असुविधा र विभेद, अपमान र अन्याय विरुद्ध तपाईंहरु आन्दोलन वा क्रान्तिमा लाग्नुभयो । यी क्षेत्र क्रान्तिका आधार इलाका बने । महाभारत र खानीखोला जस्ता विकट गाउँहरु क्रान्ति र परिवर्तनको निम्ति ठूलो भूमिका खेलेको क्षेत्र भएको नाताले गणतन्त्रको घोषणा पछि सबैभन्दो छिटो विकास र सुबिधा पाउने अधिकार यहि क्षेत्रको हो । यो क्षेत्रमा तपाईहरुले पनि आफ्ना विकास प्रेमी जनप्रतिनिधिलाई जिताउनुभयो र मैले पनि यहाँको विकास र निर्माणलाई उच्च प्राथमिकता दिएँ । त्यसैको परिणाम म धेरै पटक आएँ ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.