डिल्लीबजार कारागारमा नागरिक उन्मुक्तिकाे बैठक, जेलर महत भन्छन्-कारागारमा बैठक गर्न बन्देज छ

डिसी नेपाल
३ जेठ २०८० ११:४३
3.6k
Shares

काठमाडौं। नागरिक उन्मुक्ति पार्टीका संरक्षक रहेका रेशम चौधरीले सर्वोच्च अदालतको फैसलापछि पार्टीका नेताहरुसँग आन्तरिक छलफल गर्न डिल्लीबजार कारागारमा बैठक बोलाएका छन्।

उनले मंगलबारको सर्वोच्चको फैसलाबारे पार्टीका नेताहरुसँग आन्तरिक छलफल गर्न बोलाइएको बैठक अहिले जारी छ।

टिकापुर घटनाको प्रमुख दोषी ठहर गर्दै टिकापुर जिल्ला अदालत र दिपायल उच्च अदालतले चाधरीलाई दोषी ठहर गर्दै जन्मकैदको फैसला गरेपछि हाल चौधरीले डिल्लीबजार कारागारमा कैदभुक्तान गरिरहेका छन्।

उच्च अदालतको फैसला विरुद्ध रेशमले सर्वोच्चमा पुनरावेदन गरेका थिए। तर मंगलबार सर्वोच्चको न्यायाधीश आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलाशले जिल्ला र उच्च अदालतको फैसला सदर गर्दै जन्मकैदको फैसला गरेको हो।

सर्वोच्च अदालतले टिकापुर घटनामा दोषी ठहर गर्दै जिल्ला र उच्च अदालतले गरेको फैसला मंगलबार सदर गरेपछि पार्टीका नेताहरुसँग छलफल गर्न कारागारमै बैठक बोलाएका हुन्।

नागरिक उन्मुक्तिको अध्यक्ष रहेकी रेशम चौधरीकी श्रीमती रञ्जिता श्रेष्ठ सरकारको भूमि व्यवस्था तथा सहकारी मन्त्री रहेकी छिन्।

रेशम चौधरीको रिहाइको प्रमुख माग राखेको नागरिक उन्मुक्ति सर्वोच्चको फैसलापछि सरकारबाट बाहिरिन सक्ने सम्भावना रहेको समेत बताइन्छ। यही विषयमा डिल्लीबजार कारागारमा रहेका चौधरीले पार्टीका नेताहरुसँग छलफल गरिरहेका छन्।

तर, नागरिक उन्मुक्तिका संरक्षक रहेका रेशम चौधरीले डिल्लीबजार कारागारमा बैठक बोलाएको बारे कारागार प्रशासनले अस्वीकार गरेको छ। डिल्लीबजार कारागारका प्रमुख रोमबहादुर महतले कारागारमा राजनीतिक दलको बैठक गर्न बञ्देज लगाइएको बताए।

उनले डिसी नेपालसँग भने, ‘कारागारमा कैदी बन्दीका आफन्तर कानून व्यवसायी बाहेक अन्य राजनीतिक दलको बैठक छलफल गर्न बन्देज छ।’

उनले चौधरीका नातेदार र कानून व्यवसायीसँग भेटघाट बाहेक अन्य प्रयोजनको बैठक गर्न नमिल्ने जिकिर गरे। केही नातेदार, शुभचिन्तक र कानून व्यवसायीसँग सामान्य भेटघाट भएको हुन सक्ने बताउँदै दलको बैठक गर्न कारागारमा बन्देज लगाइएको उनले प्रष्ट्याए।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.