‘यातायातमा भएको अनियमितताको छानबिन हुन्छ’
भक्तपुर । यातायात व्यवस्था कार्यालय भक्तपुरमा भएको अनियमितताका बारेमा छानबिन गरी कारबाही प्रक्रिया अगाडि बढाइने भएको छ । कार्यालयको आफ्नै लिखित परीक्षा हल हुँदाहुँदै प्रलोभनमा परेर निजी क्षेत्रलाई परीक्षा सञ्चालन गर्ने जिम्मेवारी दिएकोबारेमा विवाद बढेपछि प्रदेश सरकारले यसबारेमा थप अनुसन्धान गरी कारबाही प्रक्रिया अगाडि बढाउने भएको हो ।
नयाँ सवारी चालक अनुमतिपत्रका सम्पूर्ण कार्यका साथै लिखित परीक्षा सञ्चालन, प्रयोगात्मक अर्थात् ट्रायल परीक्षा सञ्चालन, नवीकरणलगायत कार्य गर्दै आएको यातायात व्यवस्था कार्यालय भक्तपुरले प्रदेश मन्त्रालयलाई पत्तै नदिई नियम विपरित निजी क्षेत्रलाई परीक्षाको अनुमति दिएपछि कार्यालय प्रमुख शिवकुमार निरौला विवादमा तानिएका हुन् ।
कार्यालयका कर्मचारीले पत्तो नपाउने गरी हिमालय टाइम्समा टेण्डर आह्वान गर्दै निःशुल्क परीक्षा सञ्चालन गर्ने भन्दै कार्यालय प्रमुखले मध्यपुरथिमि–९ राधेराधेस्थित बुढाथोकी ट्रेडर्स एण्ड ट्रेनिङ्ग स्कुल प्रालिलाई सवारी चालक अनुमतिपत्रको लिखित परीक्षा सञ्चालनको अनुमति दिएपछि यो निर्णय र सम्झौता विवादमा परेको हो ।
बागमती प्रदेश सरकार श्रम, रोजगार तथा यातायात मन्त्रालयका सचिव अस्मान तामाङले लिखित परीक्षा निजी क्षेत्रलाई दिएर कार्यालय प्रमुखले अनियमितता र बेइमानी गरेको बताउँदै यसबारेमा मन्त्रालयले छानबिन गरी कारबाही गर्ने बताए ।
उनले भने, “निजी क्षेत्रमा लिखित परीक्षा सञ्चालन गर्ने जिम्मेवारी दिनु कार्यालय प्रमुखले गलत गरेको प्रष्ट भएको छ, हामी तत्काल कोटा दिँदैनाँै र यसबारेमा छानबिन गरेर कारबाही प्रक्रिया अगाडि बढाउछौँ र लिखित परीक्षा कार्यालयमै सञ्चालन गर्ने गरी फकाउँछौँ ।” उनले लिखित परीक्षा सञ्चालन कार्यालयमै फर्काउने र सेवाग्राहीलाई सहज व्यवस्थापन गर्ने गरी मन्त्रालय अगाडि बढेको बताए ।
भक्तपुरमा कार्यालय सञ्चालन भएको लामो समयसम्म पनि निजी क्षेत्रलाई परीक्षा सञ्चालनको जिम्मेवारी नदिई कार्यालयले आफ्नै हलमा परीक्षा सञ्चालन गर्दै आए पनि अहिलेका कार्यालय प्रमुख निरौलाले भने कार्यविधिको बाहना बनाएर यही जेठ ८ गतेदेखि दुई पाङ्ग्रे र चारपाङ्ग्रे हल्का सवारीसाधनको लिखित परीक्षाको जिम्मेवारी निजी क्षेत्रलाई दिएको हो ।







डिसी नेपाल








Facebook Comment