युवाको आक्रोश र अवस्था

लक्ष्मण बेल्बासे
१८ जेठ २०८० १०:३९

भर्खरै उपनिर्वाचन सकिएको छ। परिणाम ले सबैलाई तरंगित बनाएको छ। धेरै को बुझाइ छ। अब दल को विकल्प अर्को दल उदाएको छ। सबैको चाहना देश मा सकारात्मक परिवर्तन आउने छ भन्ने नै हो।

त्यसैले होला जनता स्वायत्त बनेका छन्। यसपाली जनता मात्रै होइन, कार्यकर्ता नै पार्टीको घेरा नाघेर मतदान गरेको कुरा परिणामले देखाएको छ।

उपस्थित दलहरुको असफलता र असफलताको कारणले सृजित आक्रोश स्वतन्त्रमा देखिएको जगजाहेर छ। अहिलेको अवस्था भनेको देशकै सम्पूर्ण संयन्त्र नै खिया लागे जस्तै भएको छ।बहुदल अर्थात् प्रजातन्त्र आएको पनि तीस वर्ष भन्दा बढी भएको छ।

आशा निराशामा बदलिएको छ। तीस वर्षको अवधिमा न संस्कार को विकास भयो न प्रणाली कै विकास भयो। भएका माथि विभिन्न बहानामा निर्मम प्रहार गरियो। सबै संयन्त्र चास्नी मै नदुबाएको जेरी जस्तै भए।

यसैको परिणाम भनौं देशमा नैतिकताको संकट बढ्दै गयो। जसरी पनि धन कमाउनु र धनी बन्नु समाज कै लागि गौरवको विषय बन्न थाल्यो। विदेश शक्ति सम्पन्न देशमा नेपाली मात्र हैन भुटानी बनेर भए पनि स्थायी बसोबासको व्यवस्था मिलाउनु जीवनमा ठूलो सफलताको रुपमा अर्थ्याउने भाष्यको निर्माण गरियो।

समाजले ठूलो सम्मान दिन थाल्यो। अब हरेक युवाको अधिकतम लक्ष्य यस्तै शक्ति सम्पन्न राष्ट्रको स्थायी बसोबास मिलाउनु हुन थाल्यो। विदेशी पीआरलाई गर्वको विषय भनेर समाजले मान्यता दिन थाल्यो।

सामाजिक मान्यता मै बदलाव आयो। अब २० वर्ष काटेर पनि नेपाल मै बसेर जेनतेन वा राम्रैसँग परिवार पालेर बस्छु भन्यो भने पनि समाजले हुति हराएको संज्ञा दिने भएको छ।

एउटा भाष्य जबर्जस्त निर्माण गरिएको छ। त्यो हो नेपालमा केही हुँदैन। यही कुरा हरेक हुर्कँदै गरेको बच्चामा भरिएको छ। उसले एसइइ नदिँदै निर्णय गर्छ कुन देशको लागि तयारी गर्ने हो। उसलाई थाहा भइसकेको छ नेपालमा केही हुँदैन।

उसलाई नेपाली हुनुमा केही गर्व पनि छैन र यो माटोसँग उसको त्यति धेरै लगाव पनि छैन। उसको दिमाग ठूला ठूला गगन चुम्बी भवन, त्यो समुद्री किनार, पिज्जा बर्गर र त्यतैको कफी यस्तै यस्तै कुरा खोजी रहेको हुन्छ।

महंगो शिक्षा, महंगो न्याय वर्गीय शिक्षा प्रणाली,वर्गीय स्वास्थ्य प्रणाली बाध्य अभिभावक लाई पनि सामाजिक प्रतिष्ठा पनि पाइने सजिलो उपाय यही हुन पुग्यो।

अधिकतर युवा आज ३० वर्षको हुँदा उ प्रजातान्त्रिक व्यवस्था मै हुर्कियो। उसलाई सूचनाको हकको लागि लड्नु परेन। संघ संस्था खोल्न डराउनु परेन। आफ्ना विचार कहीं कतै पस्किन कतै रोकतोक भएन। उ हुर्कँदै गर्दा सधैं अधिकारका कुरा मात्र सुन्यो।

कसैले कर्तव्यको कुरा सिकाएन। उसले सुन्नु परेन। सबै तिर आक्रोश मात्र देख्यो। नैराश्यता देख्यो। आक्षेप गाली देख्यो।सुन्यो। प्रशंसा कतै देखेन। कतै सुनेन। उसले ठूला मानेका मान्छेबाट कतै सुनेको भए पनि स्व प्रशंसा सुने होला, देखे होला। शहीदको त अपमान हुने यहाँ अरूको प्रशंसा कसको सुन्थ्यो।

यसैको परिणाम भनूँ आजको युवा हिजोको नेतृत्त्वलाई नेता मान्न तैयार छैन। नेतृत्वले हिजोको लगानीको एकै पटकमा सावाँ ब्याज उठाउन खोज्दा युवा भड्किएका छन्।

२० वर्ष को भै सक्दा पनि घरमा चिया पकाउने अनुभव नगरेको, कपडा धुने र भाँडा माझ्ने कुरा उसलाई थाहा छैन। सहरमा हुर्किएका सबै युवालाई अहिले पनि खेत बारीमा मिहेनत गरेर अन्न फलाउने र गाई भैंसी दुहेर दूध निकाल्ने कसरी हो थाहा नै छैन। अभिभावकले नै यस्तो बनाएका छन्। उनीहरूलाई शारीरिक मिहेनत के हो थाहा छैन।

युवा शक्ति संघर्ष गर्न तैयार छैन। त्याग तपस्यामा विश्वास गर्न छोडेको छ। पुर्खौली स्पम्त्तिमा मोज गर्ने सबैको सोच बढेको छ। आफैंले पनि केही गर्न सकिन्छ भन्ने आत्मविश्वास हराएको छ। कसैले सुसम्पन्न बनाई सकेको देशमा तर मार्न खोजी रहेको छ आजको युवा।

घर परिवार र देश नै त्यागेर विदेशी नागरिक हुनुलाई गर्व को विषय बनाएको छ। पारि बसेर भन्छ, त्यहाँ के छ र। बेला बेला अर्ती र उपदेश दिनपछि पर्दैन। काठमाडाैंका घर बेचेर युरोपमा घर किन्नेले बेला बेला घुर्की पनि लगाउँछ। हामीले पठाएको पैसाले देश चलेको छ।

यो देशलाई माया गर्ने र जीविकोपार्जन कै लागि बाध्यात्मक अवस्थामा विदेशिनेहरुको हकमा सबैले सम्मान गर्नै पर्छ। ती श्रमजिवी नेपालीलाई स्वदेश जिउने आधारको निर्माण राज्यले गर्नै पर्छ। साँच्ची कै भन्नु पर्दा अनेक पीडा सहेर पनि रगतसँग पैसा पठाउने श्रमजिवीले गर्व गर्नै पर्छ। नेपाल यिनैको रगत पसिनाले चलेको छ।

सुकिला मुकिला होनहार युवा नेपाल मै बसेर भ्रष्ट तह लगाउँछु। देश मै सुशासनको लागि लड्छु। यो देश लाई समुन्नत बनाउँछु।र देश मै मर्छु भन्नेआँट छैन।अमेरिका छिर्न ५०लाख तिर्नेहरु आफूलाई देश भक्त ठान्दछन्।

यिनैले सिकाउँछन् देश भक्ति। नेता र नियम किन्न हिँड्नेहरु सुशासन र सामाजिक न्याय को कुरा गरेर थाक्दैनन्। यसैले होला राजनीति बरालिएको छ।

यहाँ सबैलाई लाग्छ-प्रजातन्त्र सहजै आयो।गणतन्त्र राजाले बक्सिस मै दिएका हुन।थोत्रा भएका यी दलको कुनै भूमिका नै थिएन र छैन। यसै गरी दशरथ र गगलाल जस्ता धेरै र महान सहिद मर्न तैयार नभएर भाग्न तैयार भइदिएको भए आज देशको अवस्था कस्तो हुन्थ्यो होला?

यहाँ व्यक्तिगत स्वार्थ छोडेर एक इन्च पर सर्न नसक्ने हरु नै आज आफूलाई समाजसेवी बनाएका छन्। यिनैले माइक पाउँदा बोलेका छन्।लेखेका छन्।अब त युवाको दिमाग सेट नै गरी सकेका छन्।यहाँ केही हुँदैन।

आफ्ना छोरा छोरी विदेश मै दीक्षित बनाएका छन्।अवस्था हेरेर विभिन्न शक्ति केन्द्र का एजेन्ट बनाएर नेता बन्न नेपाल आएका छन्।अवस्था यस्तै बनाएका छन्।विभूषण यहाँ किन्न पाइन्छ।

भनाइ को मतलब यो पनि होइन दल खराब छैनन्।दल खराब भए भनेरै जनताले हरेक पटक विकल्प रोजेका छन्।तर पनि नेतृत्त्व बदल्ने गरी बल नपुग्दा जनता सधैं ठगिएका छन्।

हरेक पटक को यही लुटाई र ठगाई कै कारण अब कसै माथि पनि जनता ले विश्वास अर्थात् आशा राख्ने अवस्था नै नभएको पुष्टि हुँदै गएको छ।

देश र दुनिया बदल्ने अभियानको नेतृत्व गरेर ज्यान को बाजी लगाएर व्यवस्था र शाशक का विरुद्ध विद्रोह गर्ने झापा विद्रोही,०४६ साल को परिवर्तनकारी आन्दोलन का नेता तथा आमूल परिवर्तन को सपना आफैले पनि देखेर र अरूलाई पनि देखाउँदैआफ्नै प्रियजन आफ्नै अगाडि गुमाउँदा पनि क्रान्ति प्रतिको दृढ विश्वास ले सज्जित क्रान्तिकारीहरु कति पनि विचलित भएनन्।  कथित क्रान्ति को राप तापेर रापिलो र तापिलो बनेका यिनै नेता हुन्।

विभिन्न समयमा यिनै दल र यिनै नेता प्रति जनता को आशा र भरोसा कम्ती थिएन।यिनै नेता को भाषण मात्र सुन्न जनता अर्नी झोलामा बोकेर एक दिनको बाटो हिँडेर आउँथे।

आज पार्टी भित्रै बाट नीति विचार र सिद्दान्त लाई गौण मानेर सत्ता र शक्तिलाई केन्द्रमा राखेर जब राजनीति को दिशा बदल्ने कोशिश गरियो। त्यहीबाट नैतिकता को संकट गहिरिँदै गयो।

इमान हरायो। हिजो चप्पलमा जंगल चहारेर, ओडार मा लुक्दै ज्यान बचाएर सहर छिरेर अहिले अरबौंमा खेल्दै फाइभ स्टार होटल र महलमा बस्न थाले ।फाइदा को लागि जे पनि गर्ने दासहरु सधैं यिनलाई जय जयकार गर्दै नमन् गरिरहे।

कर्मचारी होउन् या नेता नेता सबै मा दम्भ बढ्यो,यहाँ हामीले जे गर्दा पनि हुन्छ भन्ने विश्वास बढ्यो। यिनै दास र झोले हरुको कारण भ्रष्टाचार वैध जस्तै भयो।

अवैध सम्पत्ति पनि सान को विषय बन्यो। बानी पर्यो ,भ्रष्टाचार संस्कार बन्यो।समाजले अनुमोदन गर्यो।भ्रष्टहरु कै बोलवाला चल्यो।इमान्दार र निर्धन हरु बिस्तारै सत्ता बाट टाढा पुग्दै गए।

जवाफ माग्ने र कारबाही चलाउने सबै निकाय लाई आफ्ना हरुको भर्ती केन्द्र बनाउँदै पंगु बनाए।धेरै अझै पनि आफू लाई सुरक्षित ठानेर बसेका छन्।माइक पाउँदा आफू लाई दूध ले नुहाएकै सरह प्रस्तुत हुन्छन्।

सबै युवालाई लागेको छ। अब नेतृत्त्व बदलिनु पर्छ।यो सत्य पनि हो। हिजो को नेतृत्त्व ले जति योगदान गर्यो। अब पनि त्यसको ब्याज खाँदै बस्ने मानसिकता बदल्नु पर्छ।

त्यति ठूलो महाभारतको लड़ाई जितेर आर्जेको राज्य सत्ता युधिष्ठिर ले आफ्नो समय सकिएको भन्दै दोस्रो पुस्ताका परिच्चिद को सहजै जिम्मा लगाएर सन्न्यास लिएको वर्णन महाभारत मा पाइन्छ।

उनी मृत्यु प्रयन्त हामीले लडेर प्राप्त गरेको राज्य सत्ता भनेर कुर्सी मा तासिएनन्। त्यसैले अहिले पनि आदर्श राजाको उदाहरण खोज्दा उनको नाम आउँछ। एउटा व्यक्ति एउटा सन्दर्भ मा उपयुक्त हुन सक्छ।सधैं होइन। हिजो को ठूलो राजनीतिक कार्यभार यो नेतृत्त्वले पूरा गरेको छ।

त्यहाँसम्म यो नेतृत्त्व सधैं सम्मान योग्य पनि छ। त्यस पछिको हरेक परीक्षा मा यो नेतृत्त्व सधैं फेल भयो। तर पनि सत्ता को खेलमा जनतालाई सधैं विकल्प विहीन बनाइयो।

सच्चा कम्युनिष्ट पार्टी संसदीय अभ्यास बाट टाढै बसे। सच्चा तर आकारले साना पार्टी जनताको नजरमा पुगेन।परिणाम एमाले या कांग्रेस खाए खाउ नखाए घिच भने जस्तै भयो।

अर्को कुरा त्यही बाट यो नेतृत्वको जिम्मेवारी पनि सकिएको छ।अब को निर्माण को जिम्मा नयाँ सोच र नयाँ परिवेशमा हुर्किएका युवाको जिम्मा लगाउनु पर्छ। हरेक पार्टी गतिशील हुनु अत्यावश्यक छ।पानी बगे शुद्ध हुन्छ।जमे फोहोर।

अहिलेको नेतृत्त्व संरक्षक बन्ने आँट गर्नु पर्छ। युवा लाई विदेश जान प्रोत्साहन गर्ने होइन निरुत्साहित गर्ने नीति अख्तियार गर्नु पर्छ। राज्य युवा मैत्री हुँदै अभिभावकत्व प्रदान गर्न सक्नु पर्दछ।

युवालाई व्यवसायमा आकर्षित गर्दै लगानी को सुरक्षा को ग्यारेन्टी गरिनु पर्दछ।शिक्षा मा सुधार गर्दै नैतिकता र देश प्रेम तथा स्वाभिमानको विकास गराउनु पनि आजको आबस्यकता हो।

अहिले को युवा पंक्ति ले भकारो खाली भएन भनेर सराप्ने मात्र होइन।ससम्मान बिदा गर्दै नेतृत्त्व लिने आँट पनि देखाउन सक्नु पर्दछ।यहाँ केही छैन। यहाँ केही हुँदैन भन्ने अर्कैले जबर्जस्त निर्माण गरिदिएको भाष्यलाइ सत्य मानेर पलायनको बाटो रोज्नु कुनै कोणबाट उपयुक्त विकल्प हुन सक्दैन।

घरको छानो चुहिए नयाँ छानो हाल्ने हो। अर्का को घरमा ओत लाग्ने होइन। विदेश मा हराउने होइन विदेश मा सिकेका देखेका र अनुभव गरेका सकारात्मक कुरा ली क्वानले आफ्नो देश मा प्रयोग गरे जस्तै प्रयोग मा ल्याउनु पर्छ।

प्रकृति ले सुसज्जित हिमाल पहाड तराई, जल जमिन जंगल सबै कुराले भरिपूर्ण नेपाल। मात्र बजारीकरण को अभाव। सबैले सबैको सम्मान गर्दै संमृद्धि को आधार को निर्माण युवा को काँध मा आएको छ।

हिजो को परिवर्तनको लड़ाई पनि आजका वृद्ध हिजोका युवा ले नै गरेका हुन्। आजका यिनै वृद्ध ले हिजो थकाइ मारेका भए सायद गणतन्त्र आजका युवाको लागि पनि पर हुन्थ्यो होला।

त्यसैले आजका युवाले पनि आजैको जिम्मेवारी आजै पूरा गर्न सके भोलि पश्चाताप गर्नु पर्ने छैन। देश मा समस्या छ। नेता भ्रष्ट भएका छन्।प्रणाली बिग्रिएको छ।समस्या ले गजिएको छ।

यस्तै अवस्था बाट आजित भएर जनताले निकास खोजेका छन्। आक्रोशित जनता अहिले विभिन्न रुपमा आक्रोश व्यक्त गर्न थालेका छन्।संगठनमा भन्दा व्यक्तिमा भरोसा गर्न थालेका छन्।

नीति विचार र सिद्धान्तमा भन्दा गुलियो कुरामा विश्वास गर्न थालेका छन्। परीक्षामा सामेल नभएकालाई A+दिन थालेका छन्।जनता को विश्वास स्वतन्त्र ले जितेका छन्।भनिन्छ इतिहास कहिले क्रूर बनेर दोहोरिन्छ।त कहिले भद्दा मजाक।

अर्नि बोकेर भाषण सुन्न सदरमुकाम पुग्ने र बाद र विचार हेरेर छातीमा गोली थाप्न लडाईको मैदानमा उत्रने जनता फेरि भद्दा मजाक को सिकार बन्न नपरोस।अब को युवा टोल टोल मै भ्रष्ट हरु को बहिस्कार गर्दै , गरे यही देश मा सुन फलाउन सकिन्छ भन्ने आत्म विश्वास को विकास गरोस।

सोच बदलौं,अवस्था आफै बदलिन्छ।भ्रष्ट हरुलाई नमन् गर्ने दास मानसिकता बाट माथि उठौ देश आफै माथि उठ्ने छ।मनाउँदै गरेको आजको गणतन्त्र दिवस ओठको मुस्कान सहित सबैको गणतन्त्र दिवस बन्न सकोस्।गणतन्त्र दिवस को सबैलाई शुभ कामना।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *