सरकारले आफ्नो स्वार्थ र शक्तिको लागि काम गरिरहेकाे छ: महेश बस्नेत
काठमाडौं। नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले आफ्नो स्वार्थ र शक्तिको लागि मात्र काम गरेको बताएका छन्।
राष्ट्रिय युवा संघ नेपालको यूथ फोर्स विभागले शनिबार काठमाडौंमा आयोजना गरेको नवयुवाहरूलाई स्वागत कार्यक्रममा बोल्दै नेता बस्नेतले वर्तमान सरकारले भ्रष्टाचार, अनियमितता, कुशासन, अपराधीको संरक्षण, राष्ट्रहित विपरीत नागरिकता विधेयक पारितलगायतका असङ्ख्य जनघाती कार्य गरेको बताए।
सरकारले टीकापुर घटनाका दोषीको मात्र होइन उपप्राध्यापक प्रेम चलाउनेलाई सांघातीक आक्रमण गर्ने नेविसंघका कार्यकर्ताकाे मुद्दा समेत फिर्ता लिएर अपराधीलाई संरक्षण गर्ने काम गरेको भन्दै उनले आलोचना गरे। ‘प्रचण्डले हिजो जनयुद्धमा अपराधी हुन सिकाए, अहिले अपराधीको संरक्षण गरिरहेका छन्’, बस्नेतले भने।
बस्नेतले माओवादी नेतृत्वको गठबन्धन सरकार हटाएर नयाँ सरकार बनाउनुपर्ने बताए। कांग्रेस र एमालेको नेतृत्वमा सरकार बताएर समृद्धिको रोकिएको अभियान अघि बढाउनु पर्नेमा उनले जोड दिए।
प्रचण्डले भारत भ्रमणका क्रममा राष्ट्रियतालाई बेचेर मुर्रा भैँसी ल्याएको बस्नेतले बताए। राष्ट्रघाती नागरिकता विधेयक प्रमाणित गरेर प्रचण्ड र राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रियतालाई तिलाञ्जली दिएको बस्नेतको भनाइ छ। मुलुकलाई जोगाउन एमालेले वर्तमान सरकारको विकल्प खोज्नुपर्ने बस्नेतले बताए।
एमालेका केन्द्रीय सदस्य किरण पौडेलले आफूले बोल्ने क्रममा देश बनाउने हो भने नवयुवाहरुको साथ लिएर हिँड्दा मात्र हुने र त्यसैले समृद्धिको पहिलो पिलर युवाहरु रहेको बताए। कार्यक्रममा संघका अध्यक्ष क्षितिज थेबे,सचिब जय गुरुङ,खेम शर्मा प्रबक्ता निरोज पौडेल को उपस्थिति थियो।







डिसी नेपाल








Facebook Comment