नेपालको प्रजातन्त्र वा लोकतन्त्र छाडातन्त्रमा विकास भइसकेको छ : डा. कोइराला
काठमाडौं। नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले नेपालको प्रजातन्त्र एवम लोकतन्त्र छाडातन्त्रका रुपमा विकास भइसकेको बताएका छन्।
मंगलबार काठमाडौंमा कृष्णप्रसाद भट्टराईको १०२औँ जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले जेनजी आन्दोलनपछि देशको राष्ट्रियता अत्यन्तै नाजुक अवस्थामा रहेको बताए। साथै जेनजीको आन्दोलनमा नेपाली अनुहार नै थियो की अरु केही थियो भन्नेकुरा बुझ्न जरुरी रहेको धारणा राखे।
उनले भने,‘अहिले देशको राष्ट्रियता अत्यन्तै नाजुक अवस्थामा छ। प्रजातन्त्र वा लोकतन्त्र हामीले छाडातन्त्रमा विकास गरिसकेको छौं। अहिलेको अवस्था जेनजीको आन्दोलनमा नेपाली अनुहार त थियो, तर त्योभित्र नेपाली अनुहार नै थियो की अरु केही थियो भन्नेकुरा बुझ्न जरुरी थियो।’
त्यस्तै उनले राजनीति गर्ने व्यक्तिमा नैतिकता र संस्कार हुन आवश्यक रहेको भन्दै अहिले नेपालमा त्यसको खडेरी लागेको बताए।
उनले भने,‘राजनीति गर्ने व्यक्तिमा नैतिकता र संस्कार भएन भने म आग्रह गर्छु राजनीति नगर्नु। संस्कार भएन भने राजनीति हुन सक्दैन्। अहिले देशमा त्यसको खडेरी छ। अहिले पपुलिजम आएको छ त्यसले अर्को समस्या जन्माएको छ।’
त्यस्तैगरी नेता कोइरालाले आफू अधिवेशन सार्ने पक्षमा नरहेको स्पष्ट पारे। सन्तनेता कृष्णप्रसाद भट्टराई केन्द्रले आयोजना गरेको उक्त कार्यक्रममा आध्यात्मिक गुरु स्वामी आनन्द अरुण, संविधानबिद् डा.बिपिन अधिकारी, केन्द्रका अध्यक्ष तथा काठमाडौ कांग्रेसका नेता लोकेश ढकाललगायतले आफ्नो धारणा राखेका थिए।
No ads found for this position



डिसी नेपाल
Facebook Comment