तत्कालीन कार्यालय प्रमुखसहित आठ जना विरुद्ध अख्तियारद्वारा मुद्दा दायर

डिसी नेपाल
१४ असोज २०८३ १८:३५

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय मुगुका तत्कालीन प्रमुख राजीव रिमालसहित आठ जना विरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचारको आरोपपत्र दायर गरेको छ।

जलविद्युत् आयोजना निर्माणका क्रममा गैरकानुनी लाभ हासिल गरी सरकारी रकम हिनामिना गरेको अभियोगमा आयोगले मंगलबार मुद्दा दायर गरेको हो।

अदानचुली गाउँपालिकाको कुकुर फाल्ना छहराखेतदेखि सोरू गाउँपालिका-३ भिईसम्म बत्ती निर्माणका लागि विनियोजित बजेटमध्ये कामै नगरी ९ लाख २६ हजार रूपैयाँ हिनामिना गरेको आयोगको ठहर छ।

आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय मुगुका तत्कालीन प्रमुख रिमाल, तत्कालीन सव-इन्जिनियर विश्वराज भण्डारी, तत्कालीन लेखापाल रूनबहादुर सेजुवाल, सोरू गाँउपालिका-३ का तत्कालीन वडाध्यक्ष लालु धामीसहित गल्फागाढ छहराखेत जलविद्युत् आयोजना उपभोक्ता समितिका पदाधिकारीहरूलाई प्रतिवादी बनाएको छ। प्रतिवादी बनाइएका उपभोक्ता समितिका पदाधिकारीहरूमा अध्यक्ष प्रदीप बुढा, उपाध्यक्ष भीमचन्द्र बुढा, सचिव धनराज बुमी र कोषाध्यक्ष लक्ष्मी धामी रहेका छन्।

उनीहरू विरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (ङ) बमोजिमको कसुरमा ९ लाख २६ हजार रूपैयाँ बिगो कायम गरी सजायको मागदाबी गरिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *