संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल

डिसी नेपाल
१४ असोज २०८३ १७:५०

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानको रक्षाको निम्ति परिवर्तनकारी शक्तिहरूबीच एकताको आवश्यकता रहेको बताएका छन्।

नेकपा, पर्साले वीरगञ्जमा आयोजना गरेको ‘पार्टी एकता समायोजन, शपथ ग्रहण तथा प्रशिक्षण’ कार्यक्रममा उनले संघीय लोकतान्त्रिक गणतन्त्र, सार्वभौमसत्ता, संघीय शासन व्यवस्था, धर्मनिरपेक्षता, समावेशी र समानुपातिक प्रणालीलगायत प्राप्त संवैधानिक अधिकारको रक्षा गर्नुपर्नेमा जोड दिए।

प्रचण्डले भने, ‘अहिलेको राजनीतिक परिस्थिति अलिक असहज र असाधारण छ, संविधानको मौलिक हक, स्वतन्त्र न्यायपालिका, सामाजिक न्याय, दलित, महिला, मधेशी तथा उत्पीडित समुदायको अधिकार कटौती हुने खतरा दिन प्रतिदिन बढ्दै गएको छ, यो सबै यतिकै आएको होइन, जोगाउनकै लागि पनि परिवर्तनकारी शक्ति एक ठाउँमा आउनै पर्छ।’

उनले आफ्नो पार्टीले जनताको निम्ति गरेका कामको बारेमा जनतालाई नै बुझाउन नसकेको स्वीकार गरे। मुलुकको निम्ति फेरि एक पटक कम्युनिस्ट पार्टीबीच कार्यगत एकता गर्दै एकीकृत हुनुपर्ने बेला आएको उनको भनाइ छ।

पार्टीका सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सामाजिक न्याय र समानतामा आधारित समाजवादको निम्ति कम्युनिस्टबीचको एकताको आवश्यकता औँल्याए।

उनले आगामी स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टी पहिलो हुने गरी लाग्न नेता तथा कार्यकर्तालाई अपिल गरे। नेता मातृका यादवले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देश र जनताको निम्ति काम गर्ने गरी एकजुट हुन नेता तथा कार्यकर्तालाई आग्रह गरे।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *