पाइलटले नै विमान अपहरण गर्न खोजेपछि ककपिटमा चक्कु हानाहान

डिसी नेपाल
१४ असोज २०८३ १५:५२

काठमाडौं । दुबईबाट तेल अभिभ जाँदै गरेको ‘फ्लाईदुबई’ को एउटा व्यावसायिक यात्रुवाहक विमान साउदी अरबमा आपत्कालीन अवतरण गरेको छ। इजरायली अधिकारीहरूका अनुसार, उडानका क्रममा एक जना पाइलटले नै विमान अपहरण (हाइज्याक) गर्ने प्रयास गरेपछि र पाइलटहरूबीच हात हालाहाल भएपछि विमान साउदी अरबमा मोडिएर अवतरण गरेको जेरूसेलम पोस्टले जनाएको छ ।

इजरायली अधिकारीहरूले ‘द जेरुसेलम पोस्ट’ लाई बताएअनुसार, पाइलटले विमानलाई जमिनमा ठोक्काउने मनसायले अपहरण गर्न खोजेपछि ‘ठूलो विनाश थोरैले मात्र टरेको’ छ। विमानमा सवार अन्य उडान कर्मचारी र इजरायली यात्रुहरूको सहयोगमा ती पाइलटलाई नियन्त्रणमा लिइएको थियो।

इजरायली सेना, मोसाद र सिन बेट सहितको सुरक्षा संयन्त्रले यो घटनालाई आतङ्कवादी हमलाको प्रयासका रूपमा मूल्याङ्कन गरिरहेको छ। पाइलटहरूबीचको हातहालाहालका क्रममा विमान करिब ४,००० मिटर (१३,००० फिट) तल खसेको (प्लन्ज भएको) अधिकारीहरूले जनाएका छन्।

‘फ्लाइट एफजेड १०७३’ को रूपमा उडान भरिरहेको र १०० भन्दा बढी इजरायली यात्रु सवार उक्त विमानले सुरुमा सामान्य आपत्कालीन अवस्था जनाउने ‘स्क्वाक कोड ७७००’ र त्यसपछि गैरकानुनी हस्तक्षेप (अपहरण) को सङ्केत दिने ‘कोड ७५००’ प्रसारण गरेको थियो। पछि पुनः पहिलोकै कोडमा फर्काइएको थियो।

घटना सार्वजनिक भएलगत्तै इजरायली वायुसेनाले सम्भावित आपत्कालीन अवस्थाका लागि लडाकु विमानहरू तयार पारेको र सतर्कताको स्तर बढाएको थियो। प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले रक्षा अधिकारीहरूसँग आपत्कालीन सुरक्षा बैठक बोलाएका थिए।

‘अवस्था नियन्त्रणमा छ र इजरायली यात्रुहरूलाई सुरक्षित रूपमा इजरायल फिर्ता ल्याउनका लागि सबै उपायहरू अपनाइँदैछ,’ परामर्शपछि प्रधानमन्त्री कार्यालयले जारी गरेको बयानमा भनिएको छ।

विमान साउदी अरबमा अवतरण नगरेसम्मका लागि इजरायली एयरस्पेस अस्थायी रूपमा बन्द गरिएको थियो। फ्लाईदुबईले विमान प्रिन्स सुल्तान बिन अब्दुलअजीज विमानस्थल (तबुक विमानस्थल) मा सुरक्षित रूपमा अवतरण गरेको पुष्टि गरेको छ।

अमिराती एयरलाइन्सले यात्रुहरूलाई तेल अभिभ फिर्ता ल्याउनका लागि अर्को विमान साउदी अरब पठाउने तयारी गरिरहेको छ। इजरायली रक्षा मन्त्री इजरायल कात्ज र चिफ अफ स्टाफ लेफ्टिनेन्ट जनरल इयाल जमिरले पनि यात्रुहरूलाई ल्याउन सैन्य वा नागरिक विमान पठाउनेबारे विचार गरिरहेका छन्।

यस घटनाका कारण चिफ अफ स्टाफ जमिरले आफ्नो निर्धारित अमेरिका भ्रमण रद्द गरेका छन्। अधिकारीहरूले अर्का पाइलटमाथि चक्कु प्रहार गर्ने ती पाइलटको पहिचान र पृष्ठभूमिबारे अनुसन्धान गरिरहेका छन्। प्रारम्भिक अनुसन्धानअनुसार, शङ्कास्पद अपहरणकारी ओमानी नागरिक रहेको अनुमान गरिएको छ।

विमानमा सवार एक इजरायली यात्रुका अनुसार, विमान तल खस्न थालेपछि अगाडि बसेका इजरायली यात्रुहरू ककपिटतर्फ दगुरेर आक्रमणकारीसँग भिडेका थिए। यात्रुहरूले आक्रमणकारीलाई ककपिटबाट बाहिर निकालेर अन्य दुई पाइलटलाई भित्र पठाएका थिए, जसमध्ये एकले विमान नियन्त्रणमा लिएका थिए। चक्कु प्रहारबाट गम्भीर घाइते भएका पाइलटलाई विमानमै रहेका एक इजरायली दन्तचिकित्सकले प्राथमिक उपचार गरी ज्यान बचाएका थिए।

फ्लाईदुबईले एक विज्ञप्ति जारी गर्दै सेप्टेम्बर ३० मा दुबईबाट बेन-गुरियन विमानस्थल जाँदै गरेको उडान एफजेड १०७३ मा घटना भएको र विमान तबुकमा सुरक्षित रूपमा अवतरण भएको पुष्टि गरेको छ। एयरलाइन्सले सबै यात्रुहरू सुरक्षित रहेको र सम्बन्धित निकायहरूसँग मिलेर काम गरिरहेको जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *