दुर्गा प्रसाईंलाई पक्राउ गर्नुको कारण देखाउन सर्वोच्चको आदेश
काठमाडौं। मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गरी थुनामा राख्नुको कारण र आधार खुलाई लिखित जवाफ पेस गर्न सर्वोच्च अदालतले सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको छ।
गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गर्दै परेको बन्दीप्रत्यक्षीकरण रिटमाथि बुधबार प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले विपक्षीहरूका नाममा उक्त आदेश जारी गरेको हो।
प्रसाईंलाई बिनाआधार नियन्त्रणमा लिइएको भन्दै उनकी पत्नी उमा प्रसाईंले नेपाल प्रहरी प्रधान कार्यालय र साइबर ब्युरोलगायतलाई विपक्षी बनाएर सर्वोच्चमा रिट दायर गरेकी थिइन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद रचना खतिवडाको उजुरीका आधारमा साइबर ब्युरोको टोलीले असोज १२ गते बिहान भक्तपुरस्थित निवासबाटै प्रसाईंलाई पक्राउ गरेको थियो।
उनीमाथि विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ को दफा ४७ अनुसार अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ।अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतले प्रसाईंलाई तीन दिन थुनामा राख्न अनुमति दिएको साइबर ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक दिलीप कुमार गिरीले जानकारी दिएका छन्।
No ads found for this position



डिसी नेपाल
Facebook Comment