सिंहदरबार धाउँदा-धाउँदा थाके गणेश नेपालीका परिवार

डिसी नेपाल
१४ असोज २०८३ १३:४३

काठमाडौं। काठमाडौं महानगर प्रहरीसँगको विवादपछि त्रिपुरेश्वरमा आत्मदाह गरेका गणेश नेपालीका दाइ मदन नेपालीले सरकारले आफूहरूसँग गरेको सम्झौता कार्यान्वयन नगरेको भन्दै तीव्र असन्तोष र आक्रोश व्यक्त गरेका छन्।

बुधबार गृहमन्त्री सुदन गुरुङसँग भेटघाटका लागि सिंहदरबार पुगेका मदनले सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सम्झौता पालना गराउन आफू निरन्तर सिंहदरबार धाउन बाध्य भएको बताए।

“भाइले प्राण त्याग गरेको तीन महिना भइसक्यो। हाम्रो बिचमा भएको सहमति र सम्झौता अझैसम्म पनि कार्यान्वयन भएको छैन। सम्झौता चाँडो कार्यान्वयन होस् भनेरै म दिनहुँ सिंहदरबार धाइरहेको छु,” उनले भने।

मदनका अनुसार गणेशको आत्मदाह घटनापछि सरकारले सत्यतथ्य छानबिन गरी निष्पक्ष प्रतिवेदन तयार पार्ने र उनलाई आत्मदाहको स्थितिमा पुर्‍याउन बाध्य पार्ने दोषीहरूमाथि कडा कारबाही गर्ने प्रतिबद्धता जनाएको थियो।

यसका साथै गणेशकी श्रीमतीलाई रोजगारी, छोरीलाई उच्च शिक्षाको व्यवस्था तथा परिवारका सदस्यहरूको नि:शुल्क स्वास्थ्य उपचार गराउने विषयमा सरकारसँग लिखित सहमति भएको उनले जानकारी दिए।

“सबैभन्दा पहिला त सत्यतथ्य छानबिन प्रतिवेदन तयार पारेर भाइलाई मर्न बाध्य बनाउनेहरूलाई कारबाही गरिनेछ भनिएको थियो। बुहारीको रोजगारी, छोरीको उच्च शिक्षा र परिवारको स्वास्थ्य उपचार हाम्रा मुख्य माग थिए।

तर अहिलेसम्म तीमध्ये कुनै पनि माग पूरा भएको छैन,” मदनले गुनासो गरे। सरकारले गरेका प्रतिबद्धतामध्ये केवल शवको पोस्टमार्टम गरी अन्त्येष्टि गर्ने कार्य मात्र पूरा भएको उनको भनाइ छ।

भाइको असीम क्षतिपछि सम्पूर्ण परिवार गम्भीर मानसिक तनाव र समस्याबाट गुज्रिरहेको मदनले बताए। घटनाको स्तब्धतापछि वृद्ध बुबा राति-राति उठेर हिँड्ने गरेको र बुहारी पनि गम्भीर डिप्रेसनको सिकार बनेको उनले दुखसो पोखे।

“हामी चार-पाँच भाइ छोरा थियौँ, अहिले म एकजना मात्र बचेको छु। बुबा मानसिक समस्यामा हुनुहुन्छ, बुहारी डिप्रेसनमा छिन्। म आफैँ पनि न्यायका लागि सिंहदरबार धाउँदा-धाउँदा डिप्रेसनको अवस्थामा पुग्न लागिसकेँ,” उनले भने।

सरकारले सम्झौता कार्यान्वयनमा आलटाल गरिरहे आफूहरूको अवस्था थप गम्भीर र भयावह बन्ने चेतावनी उनले दिए। गरिब तथा विपन्न परिवारसँग पीडा र अन्यायबाट बाहिर निस्कने अन्य विकल्प नभएको भन्दै उनले सरकारसँग आफ्ना मागहरू तत्काल पूरा गर्न आग्रह गरे।

“अत्याचार भएपछि गरिबले मर्ने बाटो रोज्नुको विकल्प रहँदैन, मेरो भाइले त्यही गर्‍यो। अब हाम्रा लागि पनि त्यही बाटो बाँकी छ। बुबा, आमा, बुहारी र म आफैँ सरकारको नाममा ज्यान दिन बाध्य हुनेछौँ,” उनले आक्रोश व्यक्त गरे।

मदनले आफूहरूलाई आश्वासन मात्र नभई सम्झौताको वास्तविक कार्यान्वयन चाहिएको स्पष्ट पार्दै सरकारलाई तत्काल निर्णय गरेर पीडित परिवारको माग सम्बोधन गर्न जोडदार माग गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *