बाढीले थुनिएको मर्स्याङ्दी नदी खुलाउने प्रयास जारी
मनाङ। अविरल वर्षापछि घट्टेखोलाबाट आएको लेदोसहितको ढुंगा, गिट्टी र बालुवाले थुनिएको मर्स्याङ्दी नदी अझै पनि पुलको दायाँ-बायाँबाटै बगिरहेको छ।
नदीले पुलमाथिबाट धार परिवर्तन गरी आंशिक रूपमा बहाव सुरु गरे पनि हालसम्म पनि त्यो क्षेत्र तालकै रूपमा रहेको सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी कृष्णप्रसाद पौडेलले जानकारी दिए।
“एक्साभेटरले दुवैतर्फबाट काम गरिरहेको छ, तर विकटताका कारण इन्धन ल्याउन सहज छैन,” पौडेलले भने, “अहिले नेपाली सेनाको हेलिकप्टरमार्फत इन्धन ढुवानी गरेर काम अगाडि बढाइरहेका छौं।”
हाल त्यस क्षेत्रमा भौगर्भिक तथा प्राविधिक विज्ञहरूको परामर्शमा स्थानीय, प्रदेश र संघीय सरकारको संयुक्त समन्वयमा काम भइरहेको उनले बताए।
स्थानीय तहमा उपलब्ध एक्साभेटरलगायतका उपकरणहरूको प्रयोग गरी तालको बहावलाई पुरानै अवस्थामा फर्काउन निरन्तर कोसिस भइरहेको चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घलेले जानकारी दिए।
“नदीको तीव्र बहाव र जोखिमलाई ध्यानमा राखेर अहिले छेउको भागबाट काम अघि बढाइरहेका छौं,” अध्यक्ष घलेले भने, “आम नागरिकको धनजनको सुरक्षा र हितका लागि टोलीले दिनरात नभनी काम गरिरहेको छ।” उनका अनुसार मर्स्याङ्दीले पुलमाथिबाटै धार परिवर्तन गरेपछि त्यस क्षेत्र वरपरका केही घरहरू डुबानमा परेका छन्।
लमजुङ हिमालबाट उत्पत्ति हुने घट्टेखोलामा आएको भीषण बाढी र पहिरोका कारण त्यस क्षेत्रमा विद्युत्, खानेपानी आपूर्ति, टेलिफोन, इन्टरनेट र सडक सञ्जाल पूर्ण रूपमा अवरुद्ध भएको पौडेलले बताए।
यसैबिच, मर्स्याङ्दीको बाढीले नासोँ गाउँपालिका-८ र ९ जोड्ने पुल बगाएपछि स्थानीय बासिन्दालाई आवतजावतमै ठूलो समस्या परेको छ। स्थानीय रामबहादुर थकालीका अनुसार ताचैबासीहरू अहिले सडक सञ्जालबाट पूर्ण रूपमा विच्छेद भएका छन्।
विगतमा तीनतिरबाट त्यस गाउँमा आवतजावत गर्न मिल्ने भए पनि पछिल्ला दिनहरूमा घोडेटो, गोरेटो र मोटरबाटो सबै बाढी-पहिरोले बगाएर क्षति पुर्याएको थकालीले जानकारी दिए। गाउँमा कसैलाई आकस्मिक रूपमा बिरामी परी वा काम परेर बाहिर जानुपर्यो भने पनि अहिल्यै त्यो सम्भव नरहेको उनले बताए।
नासोँ-८ का वडाध्यक्ष याद घलेले गाउँबाट आवतजावत गर्ने सबै बाटो बाढी र पहिरोले बगाएपछि अन्य गाउँहरूसँगको सडक सम्पर्क टुटेको बताए। “म आफैँ पनि वडाको नेतृत्वमा छु, तर आवश्यक स्रोतसाधन र उपकरणको अभावले गर्दा तत्काल केही काम नै गर्न सकिएको छैन,” वडाध्यक्ष घलेले भने।
No ads found for this position



डिसी नेपाल
Facebook Comment