जम्मु कश्मीरमा सीआइएसएफ जवानले आफ्नै साथीहरूमाथि गोली चलाए, ४ जनाको मृत्यु
काठमाडौं । जम्मू-कश्मीरको कठुआ जिल्लामा मङ्गलबार साँझ सीआईएसएफका एक जवानले कथित रूपमा आफ्ना साथीहरूमाथि सर्भिस राइफलबाट अन्धाधुन्ध गोली चलाएका छन्। यस घटनामा असिस्टेन्ट कमाण्डेन्टसहित सीआईएसएफका चार जना जवानको मृत्यु भएको छ।
अधिकारीहरूका अनुसार, यो वारदात साँझ करिब ७:३० बजे बसोहली नजिकै रहेको माश्कामा भएको हो।
समाचार एजेन्सी पीटीआईका अनुसार, सीआईएसएफका हेड कन्स्टेबल अभिदेश कुमारको केही साथीहरूसँग कुनै कुरालाई लिएर विवाद भएको थियो। त्यसपछि उनले कथित रूपमा आफ्नो सर्भिस राइफलबाट गोली चलाउन सुरु गरेका थिए।
गोलीबारीमा सीआईएसएफका चार जना कर्मी गम्भीर रूपमा घाइते भएका थिए। उनीहरूलाई उपचारका लागि नजिकैको एनएचपीसी अस्पताल लगिएकोमा उपचारका क्रममा उनीहरूको मृत्यु भएको हो।
मृतकहरूको पहिचान असिस्टेन्ट कमाण्डेन्ट अङ्कित कुमार पाण्डे, सब-इन्स्पेक्टर लक्ष्मण सिंह, कन्स्टेबल रफिक अहमद र कन्स्टेबल सन्दीप कुमारका रूपमा भएको छ।
घटनापछि अभियुक्त हेड कन्स्टेबललाई उनका साथीहरूले नियन्त्रणमा लिएका थिए। पछि उनलाई गिरफ्तार गरियो। अधिकारीहरूका अनुसार, घटनामा प्रयोग गरिएको सर्भिस राइफल पनि कब्जामा लिइएको छ।
घटनाको सूचना पाउनासाथ सीआईएसएफ र प्रहरीका वरिष्ठ अधिकारीहरू घटनास्थलमा पुगेका थिए। अधिकारीहरूले विवादको वास्तविक कारण र गोलीबारीको परिस्थितिबारे पत्ता लगाउने प्रयास भइरहेको बताएका छन्।
No ads found for this position



डिसी नेपाल
Facebook Comment