मंगल ग्रहमा प्राचीन जीवनको सम्भावित संकेत भेटिएको वैज्ञानिकको दाबी
काठमाडौं । मंगल ग्रहमा कुनै समय जीवन अनुकूल वातावरण रहेको र सूक्ष्मजीवसँग सम्बन्धित जैविक प्रक्रियाका सम्भावित संकेत भेटिएको नयाँ अध्ययनले देखाएको छ। नासाको नेतृत्वमा गरिएको अध्ययनमा इम्पेरियल कलेज लन्डनका वैज्ञानिकहरूको समेत महत्वपूर्ण भूमिका रहेको छ ।
अध्ययनका क्रममा मंगल ग्रहको जेजेरो क्रेटरस्थित ‘ब्राइट एन्जल’ नाम दिइएको चट्टानी संरचनामा विभिन्न खनिज र जैविक पदार्थ भेटिएका छन् । वैज्ञानिकहरूका अनुसार यी संरचनाहरू जैविक कार्बनसँग सम्बन्धित देखिन्छन् र विगतमा जीवन रहेको सम्भावनाको ‘बायोसिग्नेचर’ अर्थात् जैविक संकेत हुन सक्ने देखिएको छ ।
इम्पेरियल कलेजका पृथ्वी विज्ञानका प्राध्यापक सञ्जीव गुप्ताले यो सम्भावित जैविक संकेतको महत्वपूर्ण खोज भए पनि मंगल ग्रहमा जीवन भेटिएको निष्कर्षमा पुग्न नसकिने बताएका छन् । नमुना पृथ्वीमा ल्याएर थप परीक्षण गरेपछि मात्र त्यहाँ देखिएका संरचना जैविक प्रक्रियाबाट बनेका हुन् वा होइनन् भन्ने पुष्टि गर्न सकिने उनको भनाइ छ ।
नासाको ‘पर्सिभरेन्स’ रोभरले सन् २०२१ देखि करिब ४५ किलोमिटर चौडा जेजेरो क्रेटरको अध्ययन गर्दै आएको छ। कुनै समय ठूलो ताल र नदीको डेल्टा रहेको मानिएको यस क्षेत्रमा प्राचीन जीवनका संकेत खोज्न रोभर परिचालन गरिएको हो।
अध्ययनमा ‘ब्राइट एन्जल’ क्षेत्र प्राचीन नदी उपत्यका ‘नेरेट्भा भालिस’मा रहेको र त्यहाँ सूक्ष्म कणयुक्त माटो तथा माटो मिसिएका ढुंगाका तह भेटिएको उल्लेख छ।
यी संरचनाको अध्ययन गर्दा तीव्र गतिमा बग्ने नदीको भन्दा कम ऊर्जाको ताल वातावरणमा ती तहहरू बनेको संकेत वैज्ञानिकहरूले पाएका छन्। अर्थात्, प्राचीन नदी उपत्यकाको तल्लो भागमा कुनै समय ताल बनेको हुन सक्ने देखिएको छ।
चट्टानमा गरिएको रासायनिक विश्लेषणमा फलाम-फस्फेट र फलाम-सल्फाइड खनिजसँग सम्बन्धित संरचना भेटिएका छन्। नासाका अनुसार तीमध्ये भिभियानाइट र ग्रेगाइटजस्ता खनिज पहिचान भएका छन्।
पृथ्वीमा यस्ता खनिज केही अवस्थामा सूक्ष्मजीवका चयापचय प्रक्रियासँग सम्बन्धित हुन सक्छन्। तर यी खनिज जीवनबिना हुने रासायनिक प्रक्रियाबाट पनि बन्न सक्ने भएकाले वैज्ञानिकहरूले जैविक उत्पत्तिको सम्भावना अझै पुष्टि गरिसकेका छैनन्।
पर्सिभरेन्सले ‘ब्राइट एन्जल’ क्षेत्रबाट ‘सफायर क्यानियन’ नाम दिइएको चट्टानको नमुना ड्रिल गरी सुरक्षित राखेको छ। उक्त नमुनासहित रोभरले संकलन गरेका अन्य नमुना भविष्यको ‘मार्स स्याम्पल रिटर्न’ अभियानमार्फत पृथ्वीमा ल्याउने योजना छ।
पृथ्वीका प्रयोगशालामा थप संवेदनशील उपकरणबाट परीक्षण गरेपछि मात्र यी संरचनाको वास्तविक उत्पत्ति र सम्भावित जैविक सम्बन्धबारे थप स्पष्ट हुने वैज्ञानिकहरूको भनाइ छ। एएनआई
No ads found for this position



डिसी नेपाल
Facebook Comment