जापानमा तीव्र रूपमा घट्दै जनसंख्या: वृद्ध नागरिकको संख्या ऐतिहासिक विन्दुमा, विदेशीको उपस्थिति भने ह्वात्तै बढ्यो
सांकेतिक तस्बिर एआई
टाेकियाे। जापानको कुल जनसंख्यामा निरन्तर गिरावट आएको छ भने वृद्ध नागरिकको अनुपात अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ।
जापानको गृह तथा आन्तरिक मामिला मन्त्रालयले सार्वजनिक गरेको सन् २०२५ को जनगणनाको अन्तिम नतिजाअनुसार सन् २०२५ अक्टोबर १ सम्ममा विदेशी नागरिकसहित जापानको कुल जनसंख्या १२ करोड २९ लाख ७२ हजार ५२८ रहेको छ। यो संख्या सन् २०२० को अघिल्लो जनगणनाको तुलनामा करिब ३१ लाख ७३ हजार (२.५ प्रतिशत) ले घटेको हो।
जापानमा सन् १९२० देखि हरेक पाँच-पाँच वर्षमा राष्ट्रिय जनगणना हुँदै आएको छ। सन् २०१५ यता लगातार तीनवटा जनगणनामा मुलुकको समग्र जनसंख्यामा गिरावट देखिएको छ। कुल जनसंख्यामध्ये पुरुषको संख्या ५ करोड ९७ लाख ७० हजार र महिलाको संख्या ६ करोड ३२ लाख रहेको छ।
ज्येष्ठ नागरिकको संख्या कीर्तिमानी विन्दुमा
जनगणनाअनुसार ६५ वर्ष वा सोभन्दा माथिका ज्येष्ठ नागरिकको संख्या कुल जनसंख्याको २९.४ प्रतिशत पुगेको छ। यो हालसम्मकै उच्च अनुपात हो।
जन्मदरमा आएको गिरावट र औसत आयुमा भएको वृद्धिका कारण वृद्ध जनसंख्या बढ्दै जाँदा जापानमा श्रमशक्तिको चरम अभाव तथा सामाजिक सुरक्षा (पेन्सन र स्वास्थ्य सेवा) कोषमा भारी दबाव सिर्जना भएको छ।
विदेशी बासिन्दामा ३९.८ प्रतिशतको वृद्धि
जापानी नागरिकको जनसंख्या ३.५ प्रतिशतले घटेर ११ करोड ९१ लाखमा झरेको भए पनि वैदेशिक श्रमिक तथा बासिन्दाको संख्या भने उल्लेख्य रूपमा बढेको छ। श्रमशक्तिको अभाव पूर्ति गर्न जापानले अपनाएको खुकुलो नीतिका कारण विदेशी नागरिकको संख्या ३९.८ प्रतिशतले बढेर ३८ लाख ४० हजार पुगेको छ।
प्रान्तीय असन्तुलन: टोकियोमा मात्र बढ्यो जनसंख्या
जापानका ४७ प्रान्तमध्ये राजधानी टोकियो बाहेक बाँकी अधिकांश क्षेत्रमा जनसंख्या घटेको छ। टोकियोको जनसंख्या सन् २०२० को तुलनामा करिब १ लाख ८९ हजारले बढेको छ।
शिक्षा, रोजगारी र आधुनिक पूर्वाधारका कारण क्षेत्रीय प्रान्तहरूबाट मानिसहरू राजधानीतर्फ केन्द्रीकृत हुने क्रम जारी रहँदा ग्रामीण तथा पहाडी क्षेत्रहरू तीव्र रूपमा जनशून्य बन्दै गएका छन्।
No ads found for this position



डिसी नेपाल
Facebook Comment