सुनसरीको इटहरीमा आजदेखि ‘सीप तथा रोजगार मेला, २०८३’ सुरु हुँदै

डिसी नेपाल
१४ असोज २०८३ १०:५६

सुनसरी। सरकारले युवाहरूलाई व्यावहारिक सीप प्रदान गर्दै रोजगारका अवसरहरूसँग जोड्ने प्रमुख उद्देश्यका साथ सुनसरीको इटहरीमा आजदेखि ‘सीप तथा रोजगार मेला, २०८३’ आयोजना गर्दैछ।

युवा, श्रम तथा रोजगार मन्त्रालयको आयोजनामा सुरु हुन लागेको यो मेला यही असोज २० गतेसम्म निरन्तर सञ्चालन हुनेछ।

यस मेलाको भव्य उद्घाटन प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले गर्ने कार्यक्रम तय गरिएको छ। युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवको अध्यक्षतामा सम्पन्न हुने उद्घाटन सत्रमा स्थानीय सांस्कृतिक झाँकीका रूपमा थारू नृत्य तथा परम्परागत नौमती बाजाको आकर्षक प्रस्तुति रहनेछ।

उद्घाटन समारोहलगत्तै युवाहरूलाई उद्यमशीलताप्रति आकर्षित गर्ने लक्ष्यका साथ ‘आजको युवा, भोलिको उद्यमी: सार्क संवाद’ शीर्षकमा विशेष प्यानल छलफल कार्यक्रम सञ्चालन गरिनेछ।

यस मेलाको मुख्य उद्देश्य युवाहरूको क्षमता तथा सीप पहिचान गरी उनीहरूलाई रोजगारदाता र विभिन्न तालिम प्रदायक संस्थाहरूसँग प्रत्यक्ष सम्पर्क स्थापित गराउनु रहेको छ।

कार्यक्रमको पहिलो दिन आजै दिउँसो १२:०० बजेदेखि ५:०० बजेसम्म तालिमका सहभागीहरूको छनोट, प्रशिक्षार्थीहरूको समूह विभाजन, रोजगार मिलानका लागि सीप प्रोफाइलिङ, रोजगारदाता र तालिम प्रदायक संस्थाहरूको परिचय तथा आवश्यक सूचना र परामर्श सेवाहरू सञ्चालन गरिनेछन्।

त्यस्तै, भोलिदेखि असोज १९ गतेसम्म १० वटा विभिन्न विषयगत (ट्रेड) क्षेत्रहरूमा ५ दिने व्यावहारिक तालिमहरू सञ्चालन हुनेछन्।

मेला अवधिभर विभिन्न प्रदर्शनी स्टलहरू, सूचना तथा परामर्श सेवा, रेफरल सुविधा, रोजगार मिलानका साथै उद्यमशीलतासँग सम्बन्धित छलफलहरू निरन्तर रूपमा जारी रहनेछन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *