सशस्त्र प्रहरी सहायक निरीक्षक पदको अन्तिम नतिजा सार्वजनिक
काठमाडौं । सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयले खुला प्रतियोगिताद्वारा पदपूर्ति गरिने साधारण समूह र साधारण उपसमूहतर्फको सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) पदको अन्तिम नतिजा सार्वजनिक गरेको छ।
प्रधान कार्यालयअन्तर्गतको मानवस्रोत विभाग, भर्ती तथा छनोट शाखाले मंगलबार एक सूचना जारी गर्दै विज्ञापन नम्बर ०५ (०८२/८३) अनुसार सञ्चालित प्रतियोगिताको नतिजा प्रकाशित गरेको हो।
लिखित परीक्षा, शैक्षिक योग्यता तथा अन्तर्वार्ता परीक्षाको प्राप्ताङ्कको कुल योगका आधारमा योग्यताक्रम कायम गरी सफल उम्मेदवारहरूको नाम तथा दर्ता नम्बर सार्वजनिक गरिएको छ। महाशाखाका अनुसार अन्तिम नतिजामा सफल भएका उम्मेदवारहरूले आगामी असोज १६ गते बिहान ९ बजेभित्र आवश्यक कागजातसहित सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय, हलचोकमा सम्पर्क गरिसक्नुपर्नेछ।
सम्पर्कका लागि आउँदा उम्मेदवारहरूले आफूले पेस गरेको नेपाली नागरिकताको प्रतिलिपि, बाबुको नागरिकताको प्रतिलिपि, शैक्षिक योग्यताका प्रमाणपत्रका प्रतिलिपि तथा पासपोर्ट साइजको फोटो ५/५ प्रति साथमा ल्याउनुपर्नेछ। साथै सफल उम्मेदवारहरूलाई भर्ना पोशाकमा अनिवार्य रूपमा उपस्थित हुनसमेत प्रधान कार्यालयले निर्देशन दिएको छ।

No ads found for this position



डिसी नेपाल
Facebook Comment