चार वटा संसदीय समितिको बैठक बस्दै : के-के छन् कार्यसूची?
काठमाडौं । सङ्घीय संसद्अन्तर्गतका चार वटा संसदीय समितिको बैठक आज बुधबार बस्दै छ। आज अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो।
बिहान ८:३० बजे बस्ने अर्थ समितिको बैठकमा नेपालको पूँजी बजारलाई व्यवस्थित, पारदर्शी, विश्वसनीय एवं लगानीमैत्री बनाउने विषयमा छलफल हुनेछ। बैठकमा धितोपत्र निष्काशन, सूचीकरण, बजार सञ्चालन तथा नियमन र लगानीकर्ताको हित संरक्षणका सम्बन्धमा सम्बद्ध निकाय र सङ्घ-संस्थाका प्रतिनिधिहरूसँग छलफल गर्ने कार्यसूची तय गरिएको छ।
यसैगरी, बिहान ९:३० बजे कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बस्दै छ। बैठकमा विभिन्न कारागार तथा हिरासतमा रहेका कैदीबन्दीहरू र बाल सुधार गृहमा रहेका बालबालिकाहरूको मानव अधिकारको अवस्थाबारे तयार पारिएको निरीक्षण तथा अवलोकन उपसमितिको प्रतिवेदन, २०८३ उपर छलफल गरी पारित गर्ने र उक्त प्रतिवेदन सदनमा पेस गर्ने विषयमा छलफल हुनेछ।
त्यस्तै, विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ। उक्त बैठकमा संयुक्त राष्ट्रसङ्घीय जलवायुसम्बन्धी सम्मेलन (कोप-३१) को तयारी तथा कृषि, वन तथा वातावरण मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका कामकारबाहीबारे छलफल हुने कार्यसूची छ। विधायन व्यवस्थापन समितिको बैठकमा भने ‘आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक, २०८३’ माथि दफावार छलफल हुने जनाइएको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment