‘अक्षमता असम्भवता होइन’: जोरपाटीमा २० जना फरक क्षमता भएका प्रतिभाले गरे र्याम्प वाक
काठमाडौं। फरक क्षमता भएका व्यक्तिहरूको सहभागितामा ‘च्यारिटी रनवे भोल्युम-३’ सफलताका साथ सम्पन्न भएको छ।
सीएस इन्टरटेनमेन्ट नेपालको आयोजनामा जोरपाटीस्थित खगेन्द्र नवजीवन केन्द्रको एसओएस चिल्ड्रेन्स भिलेज परिसरमा आयोजित उक्त कार्यक्रममा २० जना फरक क्षमता भएका प्रतिभाहरूले र्याम्प वाकका साथै विभिन्न मञ्चीय प्रस्तुतिहरू दिएका थिए।
‘डिसेबिलिटी इज नट इनएबिलिटी’ (अक्षमता असम्भवता होइन) भन्ने मूल सन्देशका साथ आयोजित कार्यक्रममा सहभागीहरूले आफूलाई फरक सम्भावना र प्रतिभाका रूपमा प्रस्तुत गरेका थिए।
र्याम्प वाकमा लक्ष्मी सेन्चुरी, अस्मिता राई, दमाया बुढामगर, रोशनी थापा, शारदा शर्मा, रेनु मोक्तान, जुना शाही, झरना घिमिरे, सुशीला शाही, विरू ढुङ्गाना, सान्नानी श्रेष्ठ, अर्जुन दोङ, सविन थापा, दीपक तामाङ, खड्क रोकाया, तिलकराम थारू, अकलबहादुर तामाङ, राजदेव यादव, कर्मा शेर्पा र विसु पुकार श्रेष्ठ सहभागी भएका थिए।
स्थानीय सरकारको ऐक्यबद्धता
कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका प्रवक्ता एवं वडा नं ५ का अध्यक्ष नारायणबहादुर सुवेदीले फरक क्षमता भएका व्यक्तिहरूलाई अवसर, सम्मान र सामाजिक सहभागिताको वातावरण निर्माण गर्नु समाज, समुदाय र स्थानीय सरकार सबैको साझा जिम्मेवारी भएको बताए। गोकर्णेश्वर नगरपालिका वडा नं ५ यस कार्यक्रममा सहयोगीका रूपमा सहभागी थियो।
कार्यक्रममा वडा नं ५ का वडा सदस्यहरू दुर्गा राना मगर (लक्ष्मी), कमला नेपाली, श्रीबहादुर योगी तथा धर्म थिङ लामा, नेपाल अर्थोपेडिक अस्पतालका मेडिकल निर्देशक डा. मुक्ति तिमिल्सिनालगायतको उपस्थिति रहेको थियो।
प्रशिक्षण र आत्मविश्वास
सीएस इन्टरटेनमेन्ट नेपालकी सीईओ छिरिङ शेर्पाका अनुसार र्याम्प शोका लागि सहभागीहरूलाई १४ दिनको विशेष प्रशिक्षण दिइएको थियो। “फरक क्षमता भएका व्यक्तिहरूले उचित अवसर, प्रोत्साहन र विश्वास पाए आफ्नो प्रतिभा, क्षमता र आत्मविश्वासलाई समाजसामु प्रभावकारी रूपमा प्रस्तुत गर्न सक्छन् भन्ने सन्देश दिन यो कार्यक्रम आयोजना गरेका हौँ,” उनले भनिन्।
र्याम्प शोका लागि कोरियोग्राफर टीना राईले सहभागीहरूको क्षमता, आवश्यकता र शारीरिक अवस्थालाई ध्यानमा राख्दै र्याम्प वाक, प्रस्तुति शैली, आत्मविश्वास तथा मञ्चीय प्रस्तुतिसम्बन्धी प्रशिक्षण दिएकी थिइन्।
‘राष्ट्रिय गौरव सम्मान–२०२६’ प्रदान
कार्यक्रमका अवसरमा समाजका विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो।
खगेन्द्र नवजीवन केन्द्रका प्रबन्ध निर्देशक गोकर्ण ढुङ्गाना, बीआइए फाउण्डेसनका सिद्धार्थ शाक्य, पत्रकार, लेखक तथा राष्ट्रिय कराँते रेफ्री करण तामाङ, सगरमाथा आरोहण गर्ने पहिलो महिला प्रहरी अधिकृत तथा गायिका कुञ्जाङ छ्योपेल शेर्पा, पर्वतारोही तथा व्यवसायी उदय केरुङ तथा तामाङ म्युजिक भिडियो मोडल एवं कलाकार पासाङ डोमा पाख्रिनलाई ‘राष्ट्रिय गौरव सम्मान-२०२६’ प्रदान गरिएको थियो।
No ads found for this position



डिसी नेपाल
Facebook Comment