नेपथ्यको सिक्किम कन्सर्टको मुख्य संरक्षक (चिफ पेट्रोन) मा सञ्जित खरेल

डिसी नेपाल
१३ असोज २०८३ ११:४०

काठमाडौं । आगामी अक्टोबर ३१ मा सिक्किमको गान्तोकस्थित पाल्जोर स्टेडियममा आयोजना हुन लागेको ‘नेपथ्य लाइभ इन सिक्किमः लेट्स गेट लाउडः सेलिब्रेट सिक्किम’ कन्सर्टको मुख्य संरक्षक (चिफ पेट्रोन) का रूपमा सञ्जित खरेल रहने भएका छन्। नेपाली लोक-रक ब्यान्ड नेपथ्यले सिक्किममा पहिलोपटक सांगीतिक कार्यक्रम गर्न लागेको हो।

सिक्किम कन्सर्टको आयोजक पीभीई  नेटवर्कका संस्थापक निर्देशक तथा इभेन्ट प्रमुख विकेश कायस्थ र सञ्जित खरेलबीच भएको भेटवार्तामा खरेललाई चिफ पेट्रोन बनाउने सहमति भएको हो।

सो भेटका क्रममा कायस्थ र खरेलबीच कन्सर्टको व्यवस्थापनका साथै कन्सर्ट अर्थतन्त्र, रचनात्मक अर्थतन्त्र, सांस्कृतिक पर्यटन तथा सिक्किमलाई ठूला सांगीतिक र सांस्कृतिक कार्यक्रमको उदीयमान गन्तव्यका रूपमा विकास गर्ने सम्भावनाबारे विस्तृत छलफल भएको थियो।

पीभीई नेटवर्कले खरेललाई सिक्किमका प्रभावशाली युवा व्यक्तित्वका रूपमा उल्लेख गर्दै युवा, समुदाय तथा सामाजिक पहलहरूमा उनको निरन्तरको संलग्नताको सराहना गरेको छ। चिफ पेट्रोनका रूपमा खरेलको सहभागिताले ‘सेलिब्रेट सिक्किम’ को बृहत् सांस्कृतिक उद्देश्यलाई थप बलियो बनाउने विश्वास नेटवर्कले लिएको छ।

यसअघि पीभीई नेटवर्कले गत वर्ष नोभेम्बर १५ मा सिक्किममा ‘लेट्स गेट लाउड फिचरिङ सज्जन राज वैद्य’ कन्सर्टको सफल आयोजना गरिसकेको छ। १२ हजारभन्दा बढी दर्शकको उपस्थिति रहेको उक्त कन्सर्टबाट ३ करोड भारतीय रूपैयाँभन्दा बढीको स्थानीय आर्थिक गतिविधि सिर्जना भएको आयोजकले जनाएको छ।

आयोजक विकेश कायस्थका अनुसार सिक्किमका मुख्यमन्त्री प्रेम सिंह तामाङ (गोले) ले सिर्जनात्मक क्षेत्र, युवा उद्यमशीलता, संगीत, मनोरञ्जन र रचनात्मक अर्थतन्त्रका सम्बन्धमा व्यक्त गर्दै आएका धारणाहरूबाट नै सज्जन राज वैद्य र नेपथ्यका यी कार्यक्रमहरू प्रेरित रहेका छन्।

पाल्जोर स्टेडियममा हुने नेपथ्यको यस ऐतिहासिक कन्सर्टमा सिक्किमका साथै दार्जिलिङ, कालिम्पोङ, खरसाङ, सिलिगुडी, उत्तरपूर्वी भारत र नेपालसहित आसपासका क्षेत्रहरूबाट ठूलो संख्यामा संगीतप्रेमी तथा पर्यटकहरूको सहभागिता रहने अनुमान गरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *