७० प्रतिशत उत्पादन निर्यात गर्न नसक्ने उद्योगलाई सेजको कारबाही, पञ्चकन्या एसएस एक्सपोर्ट निष्कासित

डिसी नेपाल
१३ असोज २०८३ ११:५२

काठमाडौं।  विशेष आर्थिक क्षेत्र (सेज) को मापदण्ड पूरा नगरेका उद्योगहरूमाथि कारबाही प्रक्रिया अगाडि बढाइएको छ।

विशेष आर्थिक क्षेत्र प्राधिकरणले तोकिएको कार्यविधि अनुसार आफ्नो कुल उत्पादनको ७० प्रतिशत हिस्सा निर्यात गर्न नसकेपछि ‘पञ्चकन्या एसएस एक्सपोर्ट’ लाई सेजबाट निष्कासन गरी कारबाही गरेको छ।

विशेष आर्थिक क्षेत्र प्राधिकरणका निमित्त कार्यकारी निर्देशक डा. दिवाकर लुइँटेलका अनुसार पञ्चकन्या एसएस एक्सपोर्टले सेजसँग भएको सम्झौता र सर्तअनुरूपको उत्पादन वैदेशिक बजारमा निर्यात गर्न नसकेकाले उक्त उद्योगलाई निष्कासन गर्ने निर्णय गरिएको हो।

प्राधिकरणले विशेष आर्थिक क्षेत्रभित्र सञ्चालित उद्योगहरूले गर्ने कुल उत्पादनको न्यूनतम ७० प्रतिशत हिस्सा अनिवार्य रूपमा निर्यात गर्नुपर्ने कानुनी व्यवस्था तोकेको छ। पञ्चकन्या एसएस एक्सपोर्टले उत्पादन गर्ने मेटलको ट्याङ्की तोकिएको परिमाणमा निर्यात गर्न नसकेको प्राधिकरणले जनाएको छ।

विशेष आर्थिक क्षेत्रमा राज्यका तर्फबाट आवश्यक भौतिक पूर्वाधार निर्माणदेखि उद्यमीहरूलाई विभिन्न करमा छुट तथा सहुलियतहरू उपलब्ध गराइएको छ।

रूपन्देहीको भैरहवामा रहेको विशेष आर्थिक क्षेत्र करिब ५२ बिघा क्षेत्रफलमा फैलिएको छ, जहाँ एक हजार ४०० देखि तीन हजार ७०० वर्गमिटरसम्मका कुल ६९ वटा औद्योगिक प्लटहरू (जग्गा) रहेका छन्।

करिब दुई दशकअघि भैरहवामा स्थापना गरिएको यो विशेष आर्थिक क्षेत्र देशकै पहिलो निर्यातमुखी औद्योगिक क्षेत्र हो।

सेजभित्र स्थापना गरिएका उद्योगहरू अन्य पक्षलाई बिक्री गर्न नपाइने कानुनी प्रावधान रहेका कारण निष्कासनमा परेका वा हटेका उद्योगहरूले आफूले निर्माण गरेका भौतिक संरचना तथा कम्पनीका संरचना आफैँ भत्काएर लैजानुपर्ने हुन्छ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत रहेको विशेष आर्थिक क्षेत्र प्राधिकरणले देशका विभिन्न सम्भावित स्थानहरूमा सेज स्थापनाका लागि पूर्वसम्भाव्यता र सम्भाव्यता अध्ययन सञ्चालन गर्नेका साथै पूर्वाधार निर्माणका कार्यहरू सम्पादन गर्दै आएको छ।

यस क्षेत्रभित्र स्थापित उद्योग तथा व्यवसायीहरूलाई सरकारले कर प्रोत्साहन, भन्सार महसुल छुट र झन्झटरहित सुव्यवस्थित नियामक प्रक्रियालगायतका विभिन्न सुविधाहरू प्रदान गर्दै आएको छ।

विदेशी लगानी आकर्षित गर्न कर छुट, न्यून शुल्क तथा उत्पादन एवम् सेवामूलक उद्योगहरू स्थापनाका लागि स्वदेशी तथा विदेशी लगानीकर्ताहरूलाई प्रोत्साहन गर्ने नीति प्राधिकरणले लिएको छ।

हाल मुलुकभित्र भैरहवा र सिमरामा गरी दुई वटा विशेष आर्थिक क्षेत्रहरू सञ्चालनमा रहेका छन्। यसैगरी काभ्रेको पाँचखालमा पूर्वाधार विकासका कार्यहरू अगाडि बढाउनका लागि थप अध्ययन तथा सम्भावित लगानीकर्ताहरूको खोजी भइरहेको प्राधिकरणले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *