वर्षाले जलविद्युत प्रणालीमा क्षति: अवरुद्ध आपूर्ति द्रुत गतिमा सुचारु गरिँदै
काठमाडाैं। असोज ९ गतेदेखि) परेको अविरल वर्षा र बाढीका कारण देशभरका विभिन्न विद्युतीय उत्पादन, प्रसारण तथा वितरण संरचनामा ठूलो क्षति पुग्न गएको छ।
बाढी तथा बाटो अवरोधका कारण आकस्मिक रूपमा बन्द हुन पुगेका केही जलविद्युत केन्द्रहरू सुचारु भइसकेका छन् भने बाँकी क्षेत्रमा लाइन सञ्चालन गर्न नेपाल विद्युत प्राधिकरण र ग्रीड सञ्चालन महाशाखाका प्राविधिकहरू निरन्तर कार्यक्षेत्रमा खटिएकाे उर्जा तथा जलस्राेत मन्त्रालयले जनाएकाे छ।
मन्त्रालयका अनुसार उत्पादनतर्फ राहुघाट जलविद्युत आयोजनाको टेलरेस गेट र डक्टमा क्षति पुगेको तथा टर्बाइन फ्लोरमा पानी पसेकाले सफा गरी पूर्ण सञ्चालनमा आउन करिब १० दिन लाग्ने अनुमान गरिएको छ, यद्यपि यसको स्वीच्यार्ड सामान्य रहेकाले चार्ज भइसकेको छ।
कुश्मा-दाना प्रसारण लाइनमा क्षति पुग्दा १९० मेगावाट क्षमताका कुल ७ वटा जलविद्युत केन्द्रहरूबाट विद्युत प्रसारण अवरुद्ध हुन पुगेको छ। बाढीबाट प्रभावित म्याग्दी, सेती/मादी करिडोर (२६२ मेगावाट) र मर्स्याङ्दी करिडोर (१९० मेगावाट) का जलविद्युत केन्द्रहरू सञ्चालनमा आइसकेका छन् भने १४४ मेगावाटको कालीगण्डकी जलविद्युत केन्द्र पनि शीघ्र सञ्चालनको अन्तिम तयारीमा छ। हाल प्रणालीबाट बाहिर रहेका जलविद्युत आयोजनाहरूको कुल क्षमता करिब २३० मेगावाट रहेको छ।
प्रसारण लाइनतर्फ कालीगण्डकी करिडोर (२२० के.भी.) अन्तर्गत म्याग्दीको दाना-कुश्मा खण्डका टावर नं. २१ र २२ मा क्षति पुगेको छ, जहाँ विभिन्न स्थानमा पहिरोले बाटो अवरुद्ध पारेकाले विस्तृत निरीक्षणको कार्य जारी छ।
वितरणतर्फ म्याग्दी, बागलुङ, तनहुँको झापुटार सबस्टेशन र रुकुम पूर्व क्षेत्रमा अवरुद्ध भएको विद्युत सेवा पुनः सुचारु भइसकेको छ भने मुस्ताङ, प्युठान, रोल्पा र मनाङ क्षेत्रमा पनि शीघ्र लाइन सुचारु गर्ने गरी टोलीहरू सक्रिय छन्।
आगामी सुक्खायाम (पौष २०८३-वैशाख २०८४) मा विद्युत माग र आपूर्तिको सन्तुलन मिलाउन प्राधिकरणले एकीकृत योजना बनाएको छ। सुक्खायाममा आन्तरिक जलविद्युत उत्पादन क्षमता करिब १,२१८ मेगावाट रहने अनुमान छ।
सो समयको माग पूर्ति गर्न ढल्केबर-मुजफ्फरपुरबाट ६०० मेगावाट, टनकपुर-महेन्द्रनगरबाट ५४ मेगावाट, बिहार तथा उत्तर प्रदेशका बिन्दुहरूबाट ३५० मेगावाट र द्विपक्षीय सम्झौतामार्फत १५० मेगावाट गरी कुल १,१५४ मेगावाट विद्युत आयात गरिनेछ। यसबाट कुल उपलब्ध क्षमता २,३७२ मेगावाट पुग्नेछ, जसले अघिल्लो वर्षको अधिकतम राष्ट्रिय माग २,२९२ मेगावाटलाई सहजै धान्नेछ।
भदौ १० गतेको बाढीले माथिल्लो त्रिशुली ३बी २२० के.भी. हबमा पुर्याएको क्षति र पछिल्लो वर्षाका कारण कुल ४३० मेगावाट भन्दा बढी विद्युत प्रणालीबाट बाहिर रहेको छ। यस प्राकृतिक विपत्तिका कारण नेपाल विद्युत प्राधिकरण र यसका सहायक कम्पनीहरूलाई प्रारम्भिक अनुमान अनुसार करिब रु. ७४ अर्ब बराबरको भौतिक क्षति पुगेको मन्त्रालयले जनाएकाे छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment