‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित

डिसी नेपाल
१३ असोज २०८३ २०:५०

काठमाडौं। महिलावादी अनुसन्धानमा आधारित पुस्तक ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ को दोस्रो संस्करणको आज यहाँ आयोजित एक कार्यक्रममा सार्वजनिक गरिएको छ। यो पुस्तक द स्टोरी किचेन र त्रिभुवन विश्वविद्यालय (त्रिवि) लैङ्गिक अध्ययन केन्द्रीय विभागको सहकार्यमा प्रकाशन गरिएको हो।

त्रिवि मानविकी तथा सामाजिक शास्त्र सङ्कायका डिन प्रा डा दुबीनन्द ढकाल, सिनासका कार्यकारी निर्देशक डा मृगेन्द्रबहादुर कार्की, लैङ्गिक अध्ययन विभागकी प्रमुख जमुना शिवाकोटी, द स्टोरी किचेनका अध्यक्ष डा जया लुईंटेललगायतले सो पुस्तकको संयुक्त रूपमा विमोचन गरेका थिए।

पच्चीस लेखकका आलेख समावेश सो पुस्तकमा नेपालका महिलाको अनुभव, सङ्घर्ष तथा राजनीतिक सामाजिक आन्दोलनमा उनीहरूले पुर्‍याएको योगदान समेटिएको छ। सो कार्यक्रममा त्रिवि मानविकी तथा सामाजिक शास्त्र सङ्कायका डिन प्राडा ढकालले समाजमा बाहिर नल्याइएका धेरै विषयवस्तु सो पुस्तकमा समेटिएको उल्लेख गरे।

सिनासका कार्यकारी निर्देशक डा मृगेन्द्रबहादुर कार्कीले सन्धान र पुस्तकको बाहिरी पृष्ठमा औँठाछापको प्रयोग गर्नुको अर्थ पहिल्याउँदै यस पुस्तकले हरेक महिलाको आफ्नै पहिचान प्रदान गरेको धारणा राखे। त्रिवि पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागका प्रमुख प्रा डा कुन्दन अर्यालले यस पुस्तकले नेपाली समाजभित्रका वैकल्पिक विषयको राम्ररी पहिचान र उठान गरेको स्पष्ट गरे।

समाजशास्त्री डा मीना पौडेल, अधिवक्ता कुन्जनी परियार, महिला मानवअधिकारकर्मी श्यामकुमारी साह र जेनजी अभियन्ता मोनिको निरौलाले पुस्तकले सामाजिक विविधताभित्रका विविध सवाल समेटेको बताउनुभयो। त्रिवि लैङ्गिक अध्ययन केन्द्रीय विभागका प्रमुख जमुना शिवाकोटी, द स्टोरी किचेनका अध्यक्ष डा जया लुईंटेल, कार्यकारी सदस्य निर्मला ज्ञवालीले पनि सो पुस्तक र यसको प्रकाशन प्रक्रियाका बारेमा जानकारी गराएका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *