वडा अधिवेशनमा उत्साहपूर्वक सहभागी हुन डा. शशांक कोइरालाको अपिल
काठमाडौं। नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले १५औँ महाधिवेशनअन्तर्गत प्रारम्भ हुन लागेको वडा अधिवेशन पार्टीको संगठनात्मक जीवन र लोकतान्त्रिक अभ्यासका दृष्टिले महत्त्वपूर्ण चरण भएको बताएका छन्।
नेपाली कांग्रेस १५औँ केन्द्रीय महाधिवेशन तयारी समितिका संयोजक रहेका डा. कोइरालाले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै देशभरका सम्पूर्ण नेता, कार्यकर्ता तथा क्रियाशील सदस्यहरूलाई उच्च उत्साह, जिम्मेवारी र सक्रियताका साथ वडा अधिवेशनमा सहभागी हुन हार्दिक अनुरोध गरेका छन्।
उनले वडा अधिवेशन केवल नेतृत्व चयन गर्ने प्रक्रिया मात्र नभई पार्टीको संगठनलाई नयाँ ऊर्जा दिने, कार्यकर्ताबीचको एकतालाई थप मजबुत बनाउने र नेपाली कांग्रेसलाई जनताको भरोसाको पार्टीका रूपमा अझ सशक्त बनाउने महत्त्वपूर्ण अवसर भएको उल्लेख गरेका छन्।
व्यक्तिगत आग्रह–पूर्वाग्रहभन्दा माथि उठेर आपसी सद्भाव, सहकार्य, लोकतान्त्रिक मूल्य र पार्टीको बृहत्तर हितलाई केन्द्रमा राख्दै अधिवेशन सफल बनाउन सबै एकताबद्ध भएर अघि बढ्नुपर्नेमा उनले जोड दिएका छन्।
डा. कोइरालाले वडा तहदेखि नै संगठनलाई बलियो, अनुशासित र जनमुखी बनाउँदै १५औँ महाधिवेशनलाई उत्साह, एकता र लोकतान्त्रिक अभ्यासको सशक्त उत्सवका रूपमा सम्पन्न गर्न सबैको सक्रिय भूमिका अपरिहार्य रहेको स्पष्ट पारेका छन्। उनले सम्पूर्ण साथीहरूलाई वडा अधिवेशनमा उत्साहपूर्वक सहभागी भई आफ्नो लोकतान्त्रिक अधिकार र जिम्मेवारी निर्वाह गर्नसमेत अपिल गरेका छन्।
No ads found for this position



डिसी नेपाल
Facebook Comment