विदेश पठाइदिने भन्दै ठगी गर्ने पक्राउ

डिसी नेपाल
१४ असोज २०८३ २२:४५

काठमाडौं। वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पठाइदिने भन्दै रु ३४ लाख ८९ हजार ठगी गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बेलायत, रोमानिया, अष्ट्रेलिया, क्यानडा र पोल्याण्ड पठाइदिने भन्दै रकम उठाउनेलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकका वीरेन्द्र तामाङ, मकवानपुरका कमलप्रसाद गौतम, अछामका गणेशबहादुर बुढा र रामेछापका बद्रिकुमार तामाङ छन्।

प्रहरीका अनुसार तामाङले बेलायत पठाइदिने भन्दै रु नौ लाख, गौतमले रोमानिया पठाइदिने भन्दै रु एक लाख, बुढाले अष्ट्रेलिया र क्यानडा पठाइदिने भन्दै रु तीन लाख तथा बद्रिकुमारले पोल्याण्ड पठाइदिने भन्दै रु २१ लाख ८९ हजार ठगी गरेको उजुरी प्राप्त भएको छ।

प्रहरीले चारै जनालाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको जनाएको छ। पक्राउ परेका उनीहरूलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि आज वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *