भ्रष्टाचार विरोधी लडाइँमा सतिसालझैं उभिन्छु : प्रधानमन्त्री दाहाल

डिसी नेपाल
२० असार २०८० १४:४५
48
Shares

काठमाडौं। प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू भ्रष्टाचार विरोधी लडाइँमा सतिसालझैं उभिने बताए।

बुधबार दिउँसो कीर्तिपुरस्थित अखिल क्रान्तिकारी स्ववियु काउन्सिलको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सरकारको संकल्पबाट भ्रष्टहरू तर्सिएको बताएका हुन्।

उनले भने, सरकारको नेतृत्व लिएदेखि नै देश र जनताको पक्षमा दृढतापूर्वक काम गर्ने अठोट गरिरहेको छु। भ्रष्टहरूमाथि कार्वाही सुरू भएको छ। ललिता निवासको फाइल फेरि खोलिएको छ। यो प्रकिया रोकिन्न, हेर्दै जानुहोला, थप फाइलहरू खोलिन्छ र कार्वाही गरिन्छ।’

प्रधानमन्त्री दाहालले विगतको जस्तै शक्तिशाली माओवादी बनाउन फेरि एकतावद्ध हुने तयारीमा लागेको बताए ।

‘२०६४ को निर्वाचनमा हामीले राम्रो परिणाम ल्यायौं। तर, पार्टी एकतावद्ध हुन सकेन, टुटफुट र विभाजनले आन्दोलन कमजोर भयोू उनले भने, फेरि एउटा नयाँ परिस्थिति बनेको छ। माओवादी शक्तिहरूबीच एकताको राम्रो आधार बन्दैछ। पार्टी एकता संयोजन समिति बनाइन्छ र बृहत एकतासहित अगाडि बढिन्छ।’

उनले २०८४ को निर्वाचनमा २०६४ को निर्वाचनमा भन्दा अझै उत्कृष्ट स्थान ल्याउने दाबी गरे ।

‘घेरा हाल्ने, भ्रम छर्ने प्रतिक्रियावादी षड्यन्त्र अहिले पनि जारी छ, जुन नीति हिजो पनि थियो,’ उनले भने , ‘यो आफैमा वर्गसंघर्ष हो। वर्गसंघर्षको चरित्रमा फेरबदल आएको छैन, रूप मात्रै फेरिएको हो। २०८४ को निर्वाचनमा २०६४ भन्दा शक्तिशाली हुनेगरि परिणाम दिनुपर्छ,दिन्छौं।’

माओवादीले सरकारको नेतृत्व गरेको कतिपयलाई असैह्य भएको बताउँदै उनले देश र जनताको पक्षमा निरन्तर लागिरहने प्रतिवद्धता जनाए ।

‘इतिहासको तागतको बलमा हामी सरकारमा छौँ, कतिलाई यो कुरा पचिरहेको छैन। भ्रष्टाचारविरोधी अभियानपछि भ्रष्टहरू विक्षिप्त छन्, हैरान र परिसान छन्। तर, हामी देश र जनताको पक्षमा लागिरहन्छौँ। सामाजिक न्याय, सुशासन र समृद्धिका लागि सम्पूर्ण रूपले समर्पित हुन्छौं। सरकार असफल पार्ने, कुप्रचार गर्ने षड्यन्त्रहरू छन्। तर, तिनीहरूलाई जनताले नै ठीक पार्छन्,’ प्रधानमन्त्रीले भने।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.