वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि रिलायबल इन्स्योरेन्सको आईपीओ खुल्यो
काठमाडौं। रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको आईपीओमा आजदेखि आवेदन दिन सकिने भएको छ।
इन्स्योरेन्सले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १५७ रुपैयाँ प्रिमियम थप गरी प्रतिशेयर कुल २५७ रुपैयाँमा शेयर निष्काशन गरेको हो
इन्स्योरेन्सले आफ्नो जारी पूँजी ४ अर्ब रुपैयाँको ३० प्रतिशतका दरले हुन आउने १ अर्ब २० करोड रुपैयाँ बराबरको १ करोड २० लाख कित्ता शेयर निष्काशन गरेको हो
सोमध्ये पहिलो चरणमा १० प्रतिशत अर्थात १२ लाख कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि निष्काशन खुला गरेको हो।
इन्स्योरेन्सको शेयरमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले साउन १० गतेसम्म आवेदन दिन सक्नेछन्। सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा ५ हजार ४०० कित्ताका लागि आवेदन दिन सकिनेछ।
आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले इन्स्योरेन्सलाई केयर एनपी त्रिपल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले इन्स्योरेन्सको क्रेडिट जोखिम बहन गर्ने क्षमता मध्यमस्तरको रहेको संकेत गर्दछ।
इन्स्योरेन्सको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट उपलब्ध गराएको ‘मेरो शेयर’ सफ्टवेयरबाट आवेदन दिन सक्नेछन्।







डिसी नेपाल







Facebook Comment