भ्रष्टाचारका फाइल खोल्ने काम सरकार र सत्ता टिकाउने खेल मात्र नबनोस् : रवि लामिछाने

डिसी नेपाल
३० असार २०८० १४:३८
84
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सत्ता टिकाउनका लागि मात्र भ्रष्टाचारको फाइल खोल्ने काम नगर्न सरकारलाई सुझाब दिएका छन्।

बूढानीलकण्ठ नगरपालिकामा आज आयोजित रास्वपाको नगर भेलामा सम्बोधन गर्दै सभापति लामिछानेले हरेक कालखण्डका भ्रष्टाचार मुद्दामा सरकारले छानबिन गरे साथ दिन तयार रहेको बताए।

‘सरकारले भ्रष्टाचार विरोधी फाइल खोल्ने काम सुरु गरेको छ । फाइल खोल्ने काम सरकार र सत्ता टिकाउने खेल मात्र नबनोस्’, सभापति लामिछानेले भने, ‘हरेक कालखण्डमा भएका भ्रष्टाचारका मुद्दा सक्न सरकार तयार भए रास्वपाले साथ दिन्छ।’

उनले पार्टी पङ्क्तिलाई संयमित, शिष्ट र अनुशासित बन्न आह्वान गर्दै आलोचकलाई समेत संयमित र मर्यादित भएर आलोचना गर्न आग्रह गर्दै पार्टीबारे टिप्पणी र आलोचना गर्दा सबैलाई संयमित, मर्यादित र अनुशासित हुन आग्रह गरेका छन्।

उनले भने, “हामी गाली र आलोचना ग्रहण गर्न तयार छौँ, सप्रिने र सच्चिने यसरी नै हो । तर मर्यादित र अनुशासित भएर टिप्पणी गर्दिनुहोस् । ”

सभापति लामिछानेले रास्वपाका सांसद तथा नेताका अभिव्यक्तिको गलत व्याख्या नगर्न सञ्चारकर्मीसँग आग्रह गरे। रास्वपा अन्य राजनीतिक दलको प्रभावमा नपरेको उल्लेख गर्दै  उनले जनताको मुद्दामा निःस्वार्थ र निःसर्त रुपमा सरकारलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.