खहरेखोल्सा झोलुंगे पुल : स्थानीयवासीको दिनचर्या सहज बनाउँदै

डिसी नेपाल
३१ असार २०८० ११:३२
160
Shares

कास्की। कास्कीको माछापुच्छ्रे गाउँपालिका–३ घाचोकमा निर्माण गरिएको झोलुंगे पुलले स्थानीयवासीको दिनचर्या सहज बनाएको छ। घाचोकको भुजेलथर खहरेखोल्सा खोलामाथि ६७ मिटर लामो झोलुंगे पुल निर्माणसँगै वारपारका लागि स्थानीयवासीको समय बचत भएको छ।

पुल नहुँदा दुई गाउँ वारपार गर्न २० मिनेट समय लाग्ने गरेकामा अहिले एक मिनेटमै वारपार गर्न सकिन्छ। पुलले घाचोकका एक सय ९१ घरधुरीसहित नौ सय ५५ नागरिक प्रत्यक्ष लाभान्वित भएका छन्। निर्माण उपभोक्ता समितिका अध्यक्ष कमलबहादुर भुजेलले झोलुंगे पुल बनेसँगै स्थानीयलाई धेरै नै सहज भएको बताए।

उनले भिरको अप्ठ्यारो बाटो हुँदै खहरे तरेर वारपार गर्ने गरिएकामा पुल निर्माणसँगै स्थानीय वासीको दैनिकी सहज भएको बताए। उनले भने, “वारपार गर्न खहरेखोलामा अप्ठ्यारो बाटो झरेर आउने जाने गर्नुपथ्र्यो। समय धेरै लाथ्यो। अब भने मेलापात र घाँस दाउरा गर्न, विद्यार्थीलाई विद्यालय जान र स्वास्थ्यचौकीसम्म पुग्न सहज भएको छ । पुलका वारिपारि दुवैतिरका नागरिक लाभान्वित भएका छन्।”

नेपाल सरकार झोलुंगेपुल क्षेत्रगत कार्यक्रमअन्तर्गत स्वीस सरकारको प्राविधिक सहयोग, प्रादेशिक÷प्राविधिक सहयोग प्रदायक संस्था पिटीएसयु/पिटिएपी पोखरा, स्थानीय उपभोक्ता र नौलो घुम्ती नेपालको गरी रु ३६ लाख ५८ हजार सात सय १० लागतमा पुल निर्माण गरिएको हो।

पुल निर्माणका लागि झोलुंगे पुल क्षेत्रगत कार्यक्रमको रु २३ लाख २५ हजार नौ सय २०, टिबिएसयुको रु सात लाख ८६ हजार सात सय ७६, गाउँपालिकाको रु चार लाख ७० हजार एक सय ७३, जनश्रमदान रु ७५ हजार आठ सय ४० लगानी भएको छ।

पुल निर्माणका लागि विसं २०७७ माघ २७ गते सम्झौता भएर विसं २०८० असार १६ गते निर्माण सम्पन्न भएको हो । झोलुङ्गे पुलको शनिबार गाउँपालिका अध्यक्ष मीनबहादुर गुरुङले एक कार्यक्रमकाबीच शुभारम्भ गरे। सो अवसरमा उहाँले विकट गाउँलाई सहज बनाउनका लागि सम्भव हुने स्थानमा पुल निर्माण गर्ने पालिकाको योजना रहेको बताए।

पुल बनाउनका लागि निःशुल्क जग्गादान गरेका जग्गादाता दलबहादुर भुजेल (बायाँ किनारा) र भीमकुमारी लम्साल/जगतबहादुर शाही (दायाँ किनारा)लाई सम्मान गरिएको थियो। पछिल्लो समय नेपाल सरकार झोलुंगे पुल क्षेत्रगत कार्यक्रमबाट जिल्लाका दुर्गम तथा विकट बस्तीमा धमाधम पुल निर्माण भइरहेका छन्। यसबाट विकट गाउँका नागरिकलाई लाभ पुगेको छ। – रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *