सुन बरामदको दुई साताः मुख्य मालिक वेपत्ता, भरियामाथि अनुसन्धान

मालिक जीक्वान लिङ हुन कि, दाउद

डिसी नेपाल
१७ साउन २०८० ११:०७

काठमाडौं। राजश्व अनुसन्धान विभागले त्रिभुवन विमानस्थल भन्सारबाहिरबाट करिब एक सय किलो सुन बरामद गरेको दुई साता बित्दा पनि मुख्य मालिक नजिक पुग्न सकेको छैन।

विभागको अनुसन्धानमा रहेका १८ जना मध्य कुनै पनि सुनका मालिक नभएको र उनीहरुको लगानी भए नभएको अझै पुष्टि हुन नसक्दा अन्याेल रहेको छ। राजस्वले १८ जनालाई नियन्त्रणमा लिएको छ।

उनीहरुको बयान लिने लगायतका अनुसन्धान भइरहेको छ। राजस्वको टोलीले अन्य दुईजना चिनियाँ नागरिकको खोजी गरिरहेको छ। मुख्य मालिकको बारेमा अन्याेल रहेकाले सुन कसको हो भन्ने खुल्न बाँकी रहेको छ।

विभागले सुन बरामद गरेको एक सातापछि शंकित व्यापारीको घरमा छापा मारेको थियो। त्यसअघि अनुसन्धानकै क्रममा केही भारतीय र चिनिया मुलका व्यक्तिहरु पक्राउ परेपनि उनीहरुले सुन कसको हो भने केही बतएका थिएनन।

त्यसमध्ये तिब्बेतीयन मुलका भारतीय नागरिक थुप्तेन छिरिङ लामाले ठमेलमा दावा छिरिङले सञ्चालन गरेको होटलबाट सुन व्यवस्थापन हुने गरेको बयान दिएका थिए भने पक्राउ परेका चिनियाँ नागरिक जीक्वान लिङको बयानका आधारमा थुप्तेन पक्राउ परेका थिए।

राजस्व अनुसन्धान विभागले सुन बरामद गरेको झण्डै एक सातापछि अनुसन्धानमा प्रहरीलाई पनि सामेल गराएर अनुसन्धान शुरु गर्दा सुन पगाल्ने मेसिनसम्म बरामद गर्न सफल भएको थियो।

‘व्यक्ति पक्राउमा हामीले पहिलेदेखि नै नेपाल प्रहरीको सहयोग लिएका थियौं, अहिले औपचारिक रुपमा प्रहरीको टिम हामीसँग सामेल भएको छ, अनुसन्धान हुँदैछ, प्रहरीले पनि आफ्नो काम गरिरहेको छ’, विभागका महानिर्देशक नवराज ढुंगानाले भने, ‘पक्राउ परेका सबै व्यक्तिहरुको बारेमा सूक्ष्म अनुसन्धान भैरहेकाले अहिले नै केही भन्ने अवस्था छैन।

‘पहिलो, यसरी सुन नेपाल ल्याउने काम अवैध हो यसमा संलग्नहरुको खोजी कार्यका लागि प्रहरीको सहयोग आवश्यक छ, फरेन्सिक ल्याब प्रहरीसँगै छ, सीसीटीभी र सीडीआर (कल डिटेल रेकर्ड) हेर्न पनि प्रहरी नभई हुँदैन, त्यसकारण प्रहरीको सहयोग आवश्यक पर्छ अहिले संयुक्त रुपमै अनुसन्धान भैरहेको छ’, महानिर्देशक ढुंगानाले भने।

राजस्व अनुसन्धान विभागले माग गरेपछि नेपाल प्रहरीका प्रहरी उपरीक्षक (एसपी) कृष्णप्रसाद पंगेनीको नेतृत्वमा टोली खटाएको छ। यस्तै सशस्त्र प्रहरीको टोली राजस्वमै रहेको छ।

मालिक जीक्वान लिङ हुन कि, दाउद

सय किलो सुन बरामद गरेको भोलिपल्ट चिनियाँ नागरिक जिक्वाङ लिङ अध्यागमन विभागबाट पक्राउ परे। उनी नेपाल सुन ल्याउने व्यक्तिको रुपमा विभागले पहिचान गरेको बताइएपनि अनुसन्धानमा रहेकाले उनको बारेमा केही खुलाएकै छैन।

उनले अनुसन्धान पनि अहसयोग गरिरहेको स्रोतको दावी छ। हङकङबाट नेपाल हुँदै भारत जाने सुन भारतीय र चिनियाँ व्यापारीहरुको लगानी नहुने भएकाले यो सुनमा अण्डर वल्र्ड (डन)को हुनसक्ने सुरक्षा अधिकारीहरुको दावी छ।

यद्यपि यो प्रमाणिक विषय भने होइन। तर विभाग स्रोतले दिएको जानकारी अनुसार लिङ एक वर्ष पहिले नै नेपाल आएको खुलेकाले उनको पनि लगानी रहेको हुनसक्ने अनुमान छ।

बुधबार दिउसो उनलाई पक्राउ गर्नका लागि राजस्व अनुसन्धान विभागले प्रहरी र अध्यागमनलाई पत्र पठाएको थियो। राजस्वको पत्रपछि अध्यागमन विभागले कालो सूचीमा राखेर पक्राउ गर्न प्रहरीलाई भनेको आग्रह गरेको थियो।

उनी तिब्बत एयरबाट चीन जानका लागि विमानस्थल पुगेका थिए। राजस्व अनुसन्धान विभागले करिब एक सय सुनसहित केही व्यक्तिलाई पक्राउ गरेको सूचना पाएलगत्तै नेपाल छाड्न लागेका उनको नेपाल बस्ने भिसाको म्याद सकिएको थिएन।

व्यापारिक भिसामा नेपाल आएका उनको भिसाको अवधि अगस्ट २०२३ सम्म थियो। जिक्वाङ लिङले नेपालमा कार्गो कम्पनी पनि सञ्चालन गरेका थिए। उनको नाममा नेपालमा ल्यान्ड एण्ड ओसियन इन्टरनेशनल लजिस्टिक प्राइभेट लिमिटेड सञ्चालनमा थियो। ‘उनले हङकङबाट नेपाल समान ल्याएको पनि खुलेको छ’, विभाग स्रोतले भन्यो।

उक्त कम्पनीको कार्यालय महाराजगञ्जमा रहेको छ। २०२२ डिसेम्बर १३ मा नेपाल आएका ती चिनियाँ नागरिक त्यसपछि गएको तथ्य देखिएको छैन। उनले नेपाल बस्दा तीन पटक भिजिट भिसासमेत लिएका थिए।

२०२२ को सेप्टेम्बर २८ मा तीन महिनाको भिजिट भिसा लिएका थिए। फेरि २०२३ मार्च १० गते पनि तीन महिनाको भिजिट भिसा नै थपेर नेपाल बसे।

२०२३ अप्रिल १६ मा तेस्रो पटक तीन महिनाको भिजिट भिसा थपेका उनले अन्तिम पटक २०२३ मे ११ मा तीन महिनाको ब्यापारिक भिसा लिएका थिए। त्यो भिसाको म्याद २०२३ अगस्ट ९ सम्म थियो।

‘उनी नेपालमा कार्गो व्यवशायमा संलग्न भएका कारण अहिलेको सुनमा जीक्वान लिङको लगानी नभएको पनि हुनसक्छ यो सुन व्यापारीहरुले दाउदलाई फिरौति पठाएका पनि हुनसक्छन’, विशेष व्यूरोमा कार्यरत एक प्रहरीले भने।

राजनीतिक कनेक्सन !

अहिलेसम्मकै ठुलो मानिएकोसय किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका व्यक्तिहरुको सम्बन्ध उठबस राजनीतिक नेताहरुसँग देखिएको छ। सत्तारुढ दल माओवादी केन्द्रकै केही नेतासँग तस्करको उठबस भएका केही तस्वीरहरु बाहिर आएका छन्।

होटल भियानाका सञ्चालक रहेका चिनियाँ मूलका वेल्झियम नागरिक दावा छिरिङको सम्बन्ध माओवादी नेताहरुसँग देखिएको छ। वर्षमान पुन, नन्दबहादुर पुन, कृष्णबहादुर महरा लगायतका रोल्पाली नेताहरुसँग बाक्लो उपस्थिति र उठबस रहेको पाइएको छ।

वर्षमान पुनले आफू सँगै खाना खानु संयोग मात्र भएको र यसमा सत्य तथ्य छानवीन होस भनेका छन्। रोल्पा थवाङकी अमला रोकासँग विवाह गरेका दावाको सिधा सम्पर्क र सम्बन्ध माओवादी नेताहरुसँग देखिएपछि छानवीन अघि बढ्ला कि बीचमै हराउला भन्ने आशंका उब्जेको छ।

त्रिभुवन विमानस्थलको भन्सार प्रशासनलगायत सबै सुरक्षा निकायलाई छलेर बाहिरीनै लाग्दा राजस्व अनुसन्धान विभागले सिनामंगलको सडकबाट तस्करीको सय किलो सुन गत २ असारमा बरामद गरेको थियो।

सो तस्करी प्रकरणमा संलग्न भएको आरोपमा राजस्व अनुसन्धान विभागको टोलीले सशस्त्र प्रहरीको सहयोगमा १८ जनालाई पक्राउ गरी छानबिन जारी राख्दै आएकोमा दावाको सम्पर्क र सम्बन्धले सुनको अनुसन्धानमा प्रभावित हुनसक्ने संभावनालाई नकार्न नसकिने प्रहरीका एक अधिकारीले बताएका छन्।

विभागले आइतबार सुन तस्करीका प्रमुख योजनाकारमध्येका एक दावा छिरिङलाई पक्राउ गरेलगत्तै सुन तस्करीका थप तथ्यहरू पत्ता लाग्ने विश्वास अधिकारीहरूले गरेका छ।

विभागका महानिर्देशक ढुंगानाले शुरूदेखि नै सय किलो सुन तस्करी प्रकरणमा जोसुकैको संलग्नता देखिए पनि नछोड्ने दाबी गर्दै आएको भएपनि उनी पनि प्रधानमन्त्रीको नीजि सचिव समेत बसिसकेकाले आशंका उब्जेको हो।

यद्यपि उनकै नेतृत्वमा विभागले १ नम्बर, २ नम्बर र ५ नम्बर शाखा हेर्ने ३ जना उपसचिवको नेतृत्वमा छुट्टाछुट्टै टोली बनाएर अनुसन्धानमा खटाएको छ। १ नम्बर शाखाका प्रमुख कानुनतर्फका उपसचिव, २ नम्वर शाखाका प्रमुख प्रशासन तर्फका उपसचिव र ५ नम्बर शाखाका राजस्व तर्फकै उपसचिवको नेतृत्वमा तीन वटा टोली अनुसन्धानमा सक्रिय रहेका छन्। उनीहरूलाई नेपाल प्रहरी सशस्त्र प्रहरीको टोलीले सहयोग गरिरहेको छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *