रामकुमारी झाँक्री स्थायी समिति बैठकमा अनुपस्थित, एमालेमा जाने तयारी!
काठमाडौं । नेकपा(एमाले) विभाजन गर्न हौसाएर माधव नेपालको हात समाउँदै नयाँ दल गठन गर्न निर्वाचन आयोग पुगेकी एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्री पार्टीको स्थायी समितिको बैठकमा अनुपस्थित भएकी छिन्।
शनिबारदेखि पार्टी कार्यालय आलोकनगरमा सुरु भएको एकीकृत समाजवादीको स्थायी समिति बैठकमा उनी अनुपस्थित भएकी हुन्। उनी यस अघि पार्टीको स्थापना दिवसको अवसरमा समेत अनुपस्थित भएकी थिइन्।
एमाले विभाजन गर्न प्रमुख भूमिका खेलेकी झाक्री पछिल्लो समय पार्टी नेतृत्वसँग असन्तुष्ट रहेको सार्वजनिक रुपमा बताइरहेकी छिन्।
एकीकृत समाजवादीको जारी स्थायी समितिको बैठकमा उनको उपस्थित नरहेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए। उनले शनिबारदेखि जारी बैठकमा अनुपस्थित रहेको उनले बताए।
उनले डिसी नेपालसँग भने, ‘स्थायी समिति बैठकमा उहाँ आउनुभएको छैन। हिजो पनि आउनु भएन। आजपनि उहाँको उपस्थिति छैन।’ प्रवक्ता खतिवडाले उनको अनुपस्थितिको कारणबारे अनविज्ञ रहेको जनाए।
एकीकृत समाजवादीको सचिव समेत रहेकी झाक्री पछिल्लो समय पार्टी नेतृत्वसँग रुष्ट बनेकी छिन्। शेरबहादुर देउवा नेतृत्वको सरकारमा पार्टीले उनलाई शहरी विकास मन्त्रीको जिम्मेवारी सम्हालीरहेको बेला फिर्ता बोलाएर अन्यलाई सरकारमा पठाएको थियो।
सोही समयदेखि पार्टी नेतृत्वसँग असन्तुष्टि जनाएकी झाँक्रीले हालसम्मै उक्त घटनालाई लिएर सार्वजनिक रुपमा नेतृत्वप्रति रोष प्रकट गरिरहेकी छिन्। पार्टीको औपचारिक बैठकमा उपस्थिति हुन छाडेपछि उनी एमाले प्रवेश गर्ने चर्चा समेत चलेको छ।







डिसी नेपाल








Facebook Comment