राजसंस्थाप्रति कोइरालाहरुको धारणा र पाँच बुँदे सम्झौता
नेपालको राजनीतिमा धेरै जसो समय सत्ता नारायणहिटी र विराटनगरको कोइराला निवासमा आउने जाने क्रम जारी थियो।
त्यसबीच कोइराला परिवारका मातृकाप्रसाद कोइराला, बीपी कोइराला, गिरिजाप्रसाद कोइराला र सुशील कोइराला नेपालका प्रधानमन्त्री भए। यिनीहरुको संगत राजा त्रिभुवन, महेन्द्र, बीरेन्द्र र राजा ज्ञानेन्द्रसँग भयो।
ती मध्ये बिपी र गिरिजाप्रसादको समयमा राजाको अधिकार के कति? राजालाई कुन रुपमा राख्ने भन्ने विषयमा आफैं वा दूतमार्फत कोइराला परिवारका प्रधानमन्त्रीहरुले राजासँग केही प्रस्ताव र धारणाहरु राखेका थिए। आज त्यो प्रस्ताव र धारणालाई तोडमोड नगरी सत्यतथ्यका आधारमा पाठक समक्ष राख्ने जमर्को गरेको छु।
बिपी कोइरालाले राष्ट्रिय मेलमिलापको नीति लिएर नेपाल फर्किने क्रममा निकालेको विज्ञप्तिमा ‘राष्ट्रियताको सवालमा मेरो गर्दन राजासँग जोडिएको छ, प्रजातन्त्रको सवालमा जनतासँग’ भनेका थिए।
बहुआयमिक ब्यक्तित्वका धनी, समाजवादका ब्याख्याता विश्वले चिनेका प्रजातन्त्रका हिमायती नेता कोइराला आज पनि उत्तिकै लोकप्रिय छन्।
जबजब आफूलाई अप्ठेरो पर्छ तबतब सबै पार्टीहरु उनको नाम लिन्छन्। नेपाली कांग्रेसको सिद्धान्त आज पनि उही छ, जुन बिपी कोइरालाले प्रतिपादन गरेका थिए।
नेपाली कांग्रेसमा अहिले पनि बिपीको बिचारलाई दस्तावेजमा मात्र राखेका छन्। व्यवहारमा नेताहरुको नियतमा बदलाव आएको छ। मनमा खोट भए पनि सिद्वान्तका लागि बिपीकै नाम लिन्छन्। बिपीको समाजबादको नारा कांग्रेसहरुले बेला मौका रटिरहेका छन्।
यी सबै केवल चुनावका बेला छर्ने नारामा मात्र भएको छ। नेपाली कांग्रेसभित्र अहिलेका केही अग्रज नेताहरु आफूलाई समाजवादी नेता भन्न रुचाउने, समाजवादको वास्तविक नेता मैं हुँ भन्ने दाबी गर्थे।
तर पछिल्लो दिनमा आइपुग्दा आफ्नै पद, प्रतिष्ठा जोगाउन सर्बहारा बर्गको नेतृत्व गर्ने भन्दै उदाएकासँग हारगुहार गरेर पदमा पुग्नेहरु पनि देखियो। यो बिपीको आदर्श, सिद्धान्त, मूल्य र मान्यता भित्र पर्ने कुरा होइन।
१० बर्षसम्म द्वन्द्वमा लागेर ८ हजारभन्दा बढी छानीछानी कांग्रेस सिध्याउन सफल भएका पार्टीसँगै मिसिएर व्यक्तिगत स्वार्थ पूर्ति गर्नु नेपाली कांग्रेसको सिद्वान्त भित्र पर्ने कुरा होइन। जनताको जीवनस्तर यति दयनीय हालतमा खस्किएको छ। तर त्यो उच्च ओहदाको घुम्ने कुर्र्सीमा बस्नेले देखेनन्।
केबी गुरुङ जस्ता इतिहास, बौद्विकता र बिबेक भएका नेताहरुलाई कांग्रेसले नै ओझेलमा पारिसकेको छ।
बिपीको जीवनकाल कहिले सुखमय भएन। उनको संघर्षका अधिकांश दिनहरु प्रबास, अभाव, लामो जेलको कठोर यात्रा, अनसन आदिमै बित्यो। जो राष्ट्र, राष्ट्रियता, भूगोल, जनताको सार्वभौम अधिकार र प्रजातन्त्रका लागि थियो।
त्यस्ता कठिन दिनमा पनि उनले लेखेका साहित्यहरु ती सदाबहार छन्। उनको प्रधानमन्त्रीत्वकाल केवल १८ महिना मात्र रह्यो, त्यति अबधिमा पनि उनले धेरै योजनाका खाका तयार गरेको केही सुरुवात भएका थिए। तर, सम्पन्न हुन नपाउँदै अपदस्त गरियो।
बिपीको जेलका कठोर यात्रा सुरु भयो। राजा महेन्द्र र बिपी बीच राम्रो सम्बन्ध हुँदाहुँदै पनि यात्रा लामो हुन नसक्नु दुर्भाग्यपूर्ण भएको, त्यतिबेलाका जानिफका बताउँछन्।
यदि राजा र बिपीको सहकार्य अगाडि बढ्न सकेको भए प्रजातन्त्रले साकार रुप पाउनुका साथै देशले सम्पनता हासिल गर्दै विश्वसामु उदाहरणीय बनिसक्ने रहेछ भन्ने लाग्छ। तर दुबैको आयु छोटो रह्यो।
राजा महेन्द्र पनि बिकास प्रेमी, बहुप्रतिभाका धनी थिए। उनी आफ्नो देश आफैंले बनाउनु पर्छ भन्ने भावना भएका थिए। तर राजा महेन्द्र र बिपीलाई तत्कालीन स्वार्र्थी तत्वहरुले मेल हुन दिएनन्। बिपीको आफ्नो जीवन कहिल्यैे सहज भएन। कष्टकर रह्यो।
दूरदर्शी नेता बिपीको समाजवादको अर्थ समाजमा भएको विभेदलाई अन्त्य गर्नु नै थियो। जस्तो समाजमा दुई बर्गका जनता छन्। एउटा बर्ग हुनेखाने र त्यही समाजको अर्को बर्ग हुँदा खाने।
यही बिभेद बीचको खाडल पुर्नु नै उनको समाजवादको बास्तविक अबधारणा थियो। त्यसैका लागि बिपीका पिता कृष्णप्रसाद कोइरालाले तत्कालीन राणा प्रधानमन्त्री चन्द्र शमशेरलाई पहाडबाट भारी बोक्न आएका धाक्रेहरुले लगाएको फाटेको टोपी र पोशाकहरु पोको पारेर प्रधानमन्त्रीलाई पार्सल पठाएका थिए।
उक्त कुरा हामी कार्यकर्ताले भन्नुपर्ने होइन, कांग्रेसका बरिष्ठदेखि कनिष्ट कार्यकर्ता सबैलाई थाहा नभएको होइन। तर आज नेपाली कांग्रेसले यी कुराहरु बिर्सिएर देश जनता र कार्यकर्ताको भावना माथि चोट पुर्याएको छ।
देश डुब्न लाग्दासमेत किन बिपी मार्गलाई पछ्याउँदैनन् भन्ने गुनासो कांग्रेसजनको छ। राष्ट्रियताको लागि संवैधानिक राजतन्त्र अपरिहार्य छ भन्ने कुरा बिपीले त्यसै भनेका थिएनन्।
आज राजसंस्था नहुँदा देशमा अराजकता बढ्नुका साथै राष्ट्रिय, अन्तर्राष्ट्रिय हस्तक्षेप, अन्तर्राष्ट्रिय गिरोहको सक्रियता बढ्नुका साथै भ्रष्टाचार, माफिया, तस्कर, संगठित अपराध, नागरिकको बेचबिखन जस्ता राष्ट्रघाती अपराध मौलाएको छ।
जनतालाई आफ्नो सामाजिक अस्तित्व जोगाउन मुस्किल हुँदै गएको अबस्थाबाट जनता आजित भैसकेका छन्। तर नेता, पार्टीहरु त्यसैमा रमाउन थालेका छन्।
अहिले कृष्णप्रसाद सिटौलाीले एउटा कुरा बाहिर ल्याउनु भयो। राजासँग सम्झौता भएको छ। उहाँले भन्नु भएको छ, ‘म र माधव नेपालजी थियौं। केही बर्ष म बाहिरै बसेर हेर्छु भनेका थिए।’ तर कुरा त्यसो होइन।
तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले आफ्नो दूत बनाएर पठाएका सिटौलालाई ‘सरकार अहिले धेरै गाह्रो भयो, सकेनौं। केही समयको लागि बाहिर बसिदिनु पर्यो। उचित समयमा सरकारलाई हामी ल्याउने छौं’ भन्नका लागि पठाउनु भएको थियो।
त्यसैले त राजा ज्ञानेन्द्र शाहले जनताको नासो, जनतालाई सुम्पिएको छु, भनेका थिए। तत्कालीन सात पार्टीको बीचमा भएको ५ बुँदे सहमति जस्ताको तस्तै प्रस्तुत गर्न चाहेँ।
वि.सं. २०६३ बैशाख ११ गते तत्कालीन ७ दल र श्री ५ ज्ञानेन्द्र बीच भएको ५ बुँदे सहमति निम्न अनुसार थिए।
१. परिवर्तन बि. सं. २०४७ सालको संविधानलाई टेकेर गर्ने ।
२. बिघटित प्रतिनिधि सभा पुर्नस्थापना गर्ने ।
३. बहुदलीय व्यवस्था कायम राख्ने ।
४. संबैधानिक राजतन्त्र युगयुगसम्म कायम रहने ।
५. यी सबै सहमति एक अर्कामा कायम रहने र इमान्दारिताका साथ कार्यान्वयन गर्ने।
यस्तो सहमति भएको थियो तर आजसम्म कार्यान्वयनमा आएन किन? त्यसको पालना र इमान्दारिता देखिएन। उल्टै जिउँदो राजाप्रति केही पार्र्टीका नेताहरु अनर्गल, अपशब्दहरु प्रयोग गरिरहँदा कारवाही हुनु पर्दैन?
त्यस्तै पुष्पलाल स्मृति दिवसका दिन एमाले अध्यक्ष केपी ओलीले राजनेता बिपी कोइरालाप्रति आपत्तिजनक, अपमानित शब्दहरु प्रयोग गर्नु भयो। तपाईंले कसलाई सम्मान गर्न सक्नुहुन्न भने अरुलाई पनि अपमान गर्ने अधिकार तपाईंलाई छैन।
यो बहुदलीय व्यवस्था उनै राष्ट्रप्रेमी, राजनेता बिपी कोइरालाको देन हो। आफूलाई सर पर्दा गुणगान गर्ने र सर नपर्दा अपमान गर्ने, यो कुन चरित्र हो? यस्तो चरित्र नेपाली कांग्रेसको होइन।
तपाईंको दुई तिहाईको सरकार नेपाली कांग्रेसले गिराएको थिएन। तपाईंकै घमण्डले हो। छँदा खाँदा खानाको सरकार हुँदाहुँदै किन दुई-दुई पटक मध्यावधिको सिफारिस गर्नु भयो? त्यो अधिकार २०७२ को संविधानले दिएकै थिएन। भएको घर भत्काएर नभएको घर खोज्न जाँदा के हुन्छ?
आफूहरुले बनाएको संविधानको आफैंले उल्लंघन गर्नु त्यो तपाईंकै गल्ती थियो भन्दा अन्यथा नहोला। त्यसैले बिपी कोइरालाले ०३३ सालमा मेलमिलापको भावना बोकेर नेपाल आउनु उहाँको ठूलो राजनीतिक सुझबुझ र राष्ट्र, राष्ट्रियता र संबैधानिक राजसंस्था जोगाउनु थियो।
भारतले सिक्किम लिइसकेपछि बिदेशीहरुको नियत ठिक छैन, मेरो देश पनि खतरामा पर्न सक्छ। म प्रवासमा बसेर हैन आफ्नै देश भित्र बसेर काम गर्नेछु भन्ने दूरदर्शी निर्णय लिएर आएका हुन्।
त्यो हिम्मत आजका नेताहरुमा छ? त्यो राष्ट्रिय भावना तपाईंहरुमा छ? यदि थियो भने आज देश, जनताले यो हबिगत भोग्नु पर्ने थिएन होला।
देशलाई असुरक्षित बनाउँदै बिदेशीहरुको इसारा, आर्थिक लाभमा लम्पसारबादी बन्ने थिएनन् होला। त्यसैले तपाईं धेरै कुराको ज्ञान भएको धार्मिक, राजनैतीक, उखान टुक्का रमाइलो र सजिलैसँग बोलेर मानिसलाई प्रभावमा पारिहाल्न सक्ने कुटिल ज्ञान क्षमता भएको नेतामा पर्नुहुन्छ। हाम्रो सम्मान छ।
त्यस्तो क्षमता नेपाली कांग्रेसका नेता कार्यकर्ताहरुमा छैन। तर सबै कार्यकर्ता नेताका दासपनि छैनन् जसले गलतलाई गलत भन्न नसकुन्, हामी सिद्वान्त, आदर्श, स्वाभिमानी आदर्शवादी राजनेता बिपी कोइरालाका कार्यकर्ता हाैं। त्यसैले त्यति धैर्यता, सहनशीलता र हिम्मत नेपाली कांग्रेसका कार्यकर्ताहरुमा छ।
लेखक संविधानसभा सदस्य हुन्।
















Facebook Comment