सडक विस्तारका क्रममा पहिरो खस्दा दुई जनाको मृत्यु
नुवाकोट। नुवाकोटको शिवपुरी गाउँपालिका–३ गौजेनीमा सडक विस्तारका क्रममा खसेको पहिरोमा पुरिएर हराइरहेका स्काभेटर चालकको शव आज साँझ निकालिएको छ।
योसँगै पहिरोमा पुरिएर मृत्यु हुनेको सङ्ख्या दुई जना पुगेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विक्रम लामाले जानकारी दिए।
उनका अनुसार गौजेनीस्थित मैदानबाट लप्सेतर्फ जाने स्थानीय सडक विस्तारका क्रममा आज दिउँसो २ः०० बजेतिर माथिबाट खसेको ठूलो ढुङ्गासहितको पहिरोमा पुरिएर स्थानीय फूलमान तामाङ र स्काभेटर चालक अमृत तामाङको मृत्यु भएको हो।
सडक निर्माणअन्तर्गत उपभोक्ता समितिका कोषाध्यक्षसमेत रहेका ३५ वर्षीय फूलमानलाई घटनालगत्तै पहिरोबाट मृत अवस्थामा उद्धार गरिएको थियो।
पहिरोमा परेर स्काभेटरसहित बेपत्ता भएका चालक २४ वर्षीय अमृतको शव नेपाली सेनासहितको सुरक्षा निकायले पाँच घण्टापछि उद्धार गरेको हो। शव परीक्षणका लागि त्रिशूली अस्पतालमा पठाइएको छ। घटनास्थलमा थप क्षतिको सम्बन्धमा प्रहरीले खोजतलास जारी राखेको जनाएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment