अपि पावरको आजबाट हकप्रद सेयर खुला

डिसी नेपाल
३१ साउन २०८० ८:३३
132
Shares

काठमाडौं। अपि पावर कम्पनीले आज बुधबार साउन ३१ गतेदेखि ४०% हकप्रद सेयर बिक्री खुला गरेको छ।

कम्पनीले १ः०.४ अनुपातमा १ करोड ६५ लाख ३३ हजार १३७ कित्ता हकप्रद सेयर जारी गरेको हो। जसअनुसार यस कम्पनीले १ सय अंकित मूल्यमा १ अर्ब ६५ करोड ३३ लाख १३ हजार ७ सय रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासनमा ल्याएको हो।

उक्त हकप्रद सेयरका लागि यसले असार २२ गते बुक क्लोज गरिसकेको छ। तसर्थ, असार २१ गतेसम्म कायम लगानीकर्ताले हकप्रद सेयरको दाबी गर्न पाउनेछन्। अपिको यस हकप्रद सेयरमा लगानीकर्ताले भदौ १९ गतेसम्म आवेदन दिन सक्नेछन्।

यस हकप्रद सेयरलाई क्रेडिट रेटिङ एजेन्सी केयर नेपालले केयर एनपी डबल प्लस रेटिङ प्रदान गरेको छ। यसले वित्तीय दायित्व पुरा गर्ने क्षमता मध्यम जोखिम रहेको संकेत गर्दछ। यसको हकप्रद सेयरमा मुक्तिनाथ क्यापिटलले बिक्री प्रबन्धकको काम गर्नेछ।

हकप्रदमा मुक्तिनाथ क्यापिटल, अपी पावरको कार्यालय थापाथली तथा मुक्तिनाथ बैंकको तोकिएको शाखा कार्यालदयबाट आवेदन दिन सकिन्छ । यसका साथै धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ।

हाल यस कम्पनीको चुक्ता पुँजी ४ अर्ब १३ करोड ३२ लाख ८४ हजार रुपैयाँ रहेको छ । हकप्रद सेयर बिक्री गरेपछि यसको चुक्ता पुँजी ५ अर्ब ७८ करोड ६५ लाख ९७ हजार रुपैयाँ पुग्नेछ। कम्पनीले विद्युत उत्पादन गरिरहेका ५ वटा विभिन्न परियोजनाको ऋणमोचन गर्ने उद्देश्यले हकप्रद सेयर बिक्री गर्न लागेको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *