इमरान खानको समर्थन गर्दै वसिम अकरमले भने – पाकिस्तान क्रिकेट बोर्डले माफी माग्नुपर्छ
काठमाडौं । क्रिकेटर वासिम अकरमले पाकिस्तान क्रिकेटको इतिहासबारे बनाइएको पीसीबीको भिडियोमा इमरान खानको अनुपस्थितिमा असन्तुष्टि व्यक्त गरेका छन्।
उनले ट्वीटरमा भने, “श्रीलंका पुग्नु अघि लामो उडान र घण्टौंको यात्रा पछि मलाई मेरो जीवनको सबैभन्दा ठूलो झटका लाग्यो जब मैले पाकिस्तान क्रिकेटको इतिहासबारे पीसीबीको छोटो भिडियो क्लिप देखें। यो भिडियोमा महान इमरान खानलाई समावेश गरिएको छैन।”
“राजनीतिक मतभेदहरू आफ्नो ठाउँमा छन् तर इमरान खान विश्व क्रिकेटका आइकन हुन् र उनले आफ्नो पालामा बलियो पाकिस्तानी टोली बनाएर हामीलाई अगाडिको बाटो देखाए। पाकिस्तान क्रिकेट बोर्डले यो भिडियो डिलिट गरेर माफी माग्नुपर्छ।”
पाकिस्तानको ७६औँ स्वतन्त्रता दिवसको अवसरमा पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले यो भिडियोलाई सामाजिक सञ्जाल ‘एक्स’ (ट्विटर) मा सेयर गरेको छ जसमा १९५२ देखि हालसम्म क्रिकेटसँग सम्बन्धित ऐतिहासिक र महत्त्वपूर्ण घटनाहरूको दृश्यहरू भिडियो र तस्विरहरूको मद्दतले देखाइएको छ।
पाकिस्तानको स्वतन्त्रता दिवस अगस्ट १४ को अवसरमा पाकिस्तान क्रिकेट बोर्डले सोशल मिडियामा भिडियो साझा गर्दा १९९२ मा पाकिस्तानलाई क्रिकेट विश्वकप जिताउने एकमात्र कप्तान इमरान खानको अनुपस्थितिको कारणले तीव्र प्रतिक्रियाहरू सिर्जना गर्यो।
पीसीबीले शेयर गरेको यो भिडियो पाकिस्तानका संस्थापक मोहम्मद अली जिन्नाहको बयानबाट सुरु हुन्छ। पछि यो भिडियोमा सन् १९५२ देखि १९५८ सम्मका पाकिस्तानी क्रिकेट टिमका केही यादगार पलहरु देखाइएको छ ।
पीसीबीको भिडियोमा १९८६ मा शारजाहमा जावेद मियाँदादको ऐतिहासिक छक्कादेखि १९९२ को विश्वकप र त्यसपछि सन् २००० र २०१२ को एसिया कप, सन् २००९ मा टी–२० विश्वकप जित्ने र पाकिस्तानका वर्तमान कप्तान बाबर आजमका उपलब्धिहरु रहेका छन् । चर्चा र दृश्यहरू छन् तर सन् १९९२ मा पाकिस्तानलाई पहिलो विश्वकप जिताउने टोलीका कप्तान इमरान खानको उल्लेख छैन।
१९९२ को विश्वकपको बारेमा भिडियोमा फोटोहरू प्रयोग गरिएको छ जसमा पाकिस्तानी टोलीका सदस्यहरू ट्रफी समातेर उत्सव मनाइरहेको देखाइएको छ।
यी तस्विरहरूमा इमरान खान बाहेक १९९२ मा पाकिस्तानी टोलीमा रहेका लगभग सबै खेलाडीहरू छन् । इमरानको तस्विर भने कतै देखिँदैन। तर, यस भिडियोको थम्बनेलमा अन्य ६ खेलाडीसँगै इमरान खानको तस्विर पनि छ जसमा उनी १९९२ को विश्वकप उचालिरहेका छन् ।







डिसी नेपाल







Facebook Comment