कर्णाली प्रदेश सम्पन्न भए, मुलुक समृद्ध बन्छ : उपप्रधानमन्त्री खड्का

डिसी नेपाल
२७ असोज २०८० २२:३८
16
Shares

काठमाडौं । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले कर्णाली प्रदेशलाई सम्पन्न बनाउन सकेमात्रै मुलुक समृद्ध बन्ने बताएका छन् । उद्योग वाणिज्य सङ्घले सुर्खेतमा शनिबार आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै उनले कर्णाली प्रदेशको उन्नति, प्रगति र विकासका लागि एकता भने आवश्यक रहेको उल्लेख गरे ।

सिङ्गो कर्णाली प्रदेशको एकताले कर्णाली प्रदेशलाई सम्पन्न बनाउन सकिने र कर्णाली प्रदेश सम्पन्न भएमा मुलुक पनि समृद्ध हुने उपप्रधानमन्त्री खड्काको भनाइ थियो । कर्णाली प्रदेशमा पर्यटनसहित सबै क्षेत्रमा अथाह सम्भावना रहेको भन्दै त्यसका लागि भौतिक पूर्वाधार निर्माणमा लाग्नुपर्नेमा उनले जोड दिए ।

भौतिक पूर्वाधार निर्माणमा ढिलाइ भएकै कारण कर्णाली प्रदेश पर्यटन विकासदेखि सबै क्षेत्रमा पछि परेको भन्दै अब पूर्वाधार निर्माणमा जोड दिनुपर्ने बेला आएको उनले बताए ।

उपप्रधानमन्त्री तथा रक्षामन्त्री खड्काले भोटको राजनीतिका कारण विकास निर्माणलाई असर गर्न नहुनेमा जोड दिए । विकास निर्माणमा पछि परेको कर्णाली प्रदेशको तीव्र विकासका लागि तीनवटै तहका सरकार, राजनीतिक दल, उद्योगी, व्यवसायी र नागरिक समाजलाई समेत सँगसँगै लिएर जानुपर्ने उपप्रधानमन्त्री खड्काको भनाइ थियो ।

उनले कर्णालीको विकासमा देखिएका समस्या र समाधानका उपाय खोजीमा देखिएका कमी–कमजोरी सच्याएर काम गरे अबको १०–१५ वर्षमा कर्णालीलाई सम्पन्न प्रदेश बनाउन सकिने बताए । वर्तमान परिप्रेक्ष्यमा विकास निर्माणमा असर पार्ने गरी कसैले राजनीति गरे त्यो राजनीति नभई जनतामाथिको बेइमानी हुने उपप्रधानमन्त्री खड्काको भनाइ थियो ।

उनले प्रादेशिक औद्योगिकग्रामको काम पनि चाँडै सुरुआत हुने जानकारी दिए । उपप्रधानमन्त्री खड्काले हालको सुर्खेत विमानस्थलले भविष्यको जनघनत्वको चाप नधान्ने अवस्था रहेकाले बेलैमा नयाँ ठाउँमा ठूलो विमानस्थलका लागि अहिलेदेखि नै पहल गर्नुपर्ने आवश्कता औँल्याए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.