मंसिर ७ मा युवा संघले काठमाडौंमा प्रदर्शन गर्ने
काठमाडौं। भ्रष्टाचार, महंगी, अनियमितता तथा राज्यको अराजकता विरुद्ध प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको भातृ संस्था राष्ट्रिय युवा संघले मंसिर ७ गते काठमाडौंमा जनप्रदर्शन गर्ने भएको छ।
मुलुकमा सरकार भएको अनुभूति नभएको र दण्डहिनताले सीमा नाघेको भन्दै युवासंघले मंसिर ७ गते काठमाडौंमा प्रदर्शन गर्न लागेको युवा संघका प्रवक्ता निरोज पौड्यालले जानकारी दिए। उनले माफियागिरी, समाजिक सद्भाव भड्काउने एवं धार्मिक सहिष्णुता भत्काउने आपराधिक गतिविधि विरुद्ध प्रदर्शन गर्न लागिएको जनाए।
सामाजिक अभियन्ता दुर्गा प्रसाईंले पनि सोही दिन काठमाडौंमा प्रदर्शन गर्ने तयारी गरेका छन्। पछिल्लो समय प्रसाईंका गतिविधि विरुद्ध युवासंघ विरोधमा उत्रिएको छ।
प्रसाईंले एमाले अध्यक्ष केपी ओलीको कम्बोडियामा लगानी रहेको सार्वजनिक अभिव्यक्ति दिएपछि एमाले प्रसाईं विरुद्ध खनिएको छ। प्रसाईंले काठमाडौंमा प्रदर्शन गर्ने दिन युवा संघले पनि प्रदर्शन गर्न तयारी गरेपछि मुठभेडको संभावना बढेको छ।
युवा संघले गणतन्त्रको रक्षा गर्न सरकारले नसके आफूहरु तयार रहेको जनाएको छ। प्रधानमन्त्री पुष्पकमल दाहालले गणतन्त्र विरुद्ध प्रहार हुन थालेको भन्दै गणतन्त्र पक्षधर शक्ति एकजुट हुन आग्रह गरेका थिए।
प्रधानन्त्रीको सो अभिव्यक्तिलाई युवा संघले गणतन्त्रको रक्षा गर्न आफूहरु सक्षम रहेको दाबी गरेको छ। ‘प्रधानमन्त्री गणतन्त्र धरापमा पर्यो भन्दै हिँड्नु भएको छ, अहिले गणतन्त्रमाथि कसैबाट पनि खतरा छैन, यदि छ भने त्यो सरकारबाटै छ,’ युवा संघका प्रवक्ता निरोज पौड्यालले भने, ‘प्रधानमन्त्रीले मुलुकमा सरकार भएको अनुभूति दिलाउने हो भने विरोधका स्वर आफैं बिलाएर जान्छन्।’







डिसी नेपाल








Facebook Comment