गठबन्धन सरकार भत्काउन एमाले अध्यक्ष ओलीको प्रयास तीव्र

डिसी नेपाल
२ मंसिर २०८० ८:२३

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको गठबन्धन सरकार भत्काउन प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुनः कसरत थालेका छन्।

नेपाली कांग्रेस नेतृत्वको सत्ता गठबन्धनलाई भत्काएर सत्ता समीकरण फेरबदल गर्ने प्रयासस्वरूप पछिल्लो समय अध्यक्ष ओलीले गठबन्धनको एक घटक जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवसँग निरन्तर छलफल गरिरहेका छन्।

यद्यपि, एमाले अध्यक्ष ओली र जसपा अध्यक्ष यादवबीचको निरन्तरको संवादलाई दुवै पक्षले गोप्य राखेका छन्। अध्यक्ष यादव निकट स्रोतले गरेको दाबीअनुसार प्रचण्ड नेतृत्वको गठबन्धन सरकारलाई ढाल्न अध्यक्ष ओलीले जसपा अध्यक्ष यादवलाई प्रधानमन्त्रीको अफर गरेका छन्।

गत पुस १० मा एमाले-माओवादीको सत्ता समीकरणमा प्रचण्ड नेतृत्वको सरकार बनेको थियो। २०७९ फागुन ११ गते प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको कांग्रेससहित आठ दलको बैठकले एमालेसँगको पूर्वसहमति तोडेपछि नयाँ समीकरण बनेको थियो। नयाँ समीकरण बनेसँगै आक्रामक बनेका अध्यक्ष ओली निरन्तर सरकार ढाल्ने कसरतमा सक्रिय रहँदै आएका छन्।

यसको पछिल्लो प्रयास हो कोशी प्रदेश सरकार गठन। गठबन्धन भत्काउने प्रयासस्वरूप नै एमालेले कोशीमा कांग्रेसका विद्रोही समूहका केदार कार्कीलाई मुख्यमन्त्री बनाउन सहयोग गरेको थियो।

तर, गठबन्धन भत्काउने उक्त प्रयास पनि असफल भएपछि अध्यक्ष ओलीले फेरि अर्को गोटी चालेका छन्। सरकार परिवर्तनको लागि निर्णायक शक्ति रहेको जसपाका अध्यक्ष यादवलाई फकाउन एमालेबाट दोस्रो तहका नेताहरू सक्रिय रूपमा लागेका छन्।

पछिल्लोपटक ओलीनिवास बालकोटमा भएको गोप्य भेटमा अध्यक्ष ओलीले सत्ता समीकरण तोड्ने सर्तमा जसपा अध्यक्ष यादवलाई प्रधानमन्त्रीको अफर गरेका छन्।

संसदमा १० सिट भएको नेकपा एकीकृत समाजवादी (नेकपा एस)का अध्यक्ष माधवकुमार नेपाल प्रधानमन्त्री बन्न हुने तर १२ सिट भएको जसपाका अध्यक्ष यादव प्रधानमन्त्री बन्न किन नहुने? भन्ने तर्क अघि सारेर अध्यक्ष ओलीले आफैँ र पार्टीका दोस्रो तहका नेताहरूमार्फत यादवलाई फकाइरहेको जसपा पार्टी स्रोतको दाबी छ।

छठलगत्तै सत्ता समीकरण फेरबदल गर्ने गरी एमाले अध्यक्ष ओली लागिपरेको एमाले वृत्तमै चर्चा चलिरहेको छ। तर, अध्यक्ष ओलीनिकट नेकपा एमालेका नेता विशाल भट्टराईले भने सत्ता समीकरण तोड्ने प्रयास भइरहेको विषयलाई अस्वीकार गरेका छन्।

अहिले एमाले मध्यपहाडी लोकमार्ग अभियान र संगठन विस्तारमा मात्र केन्द्रित रहेको जिकिर गर्दै भट्टराईले भने, ‘एमालेको ध्यान गठबन्धन भत्काउनेतर्फ छैन। तर, गठबन्धन सरकारले जनताको हितमा काम गर्न सकेन।

राष्ट्र र राष्ट्रियताको सवालमा चुकेको छ। अर्थतन्त्र चौपट हुँदा पनि सरकार कानमा तेल हालेर बसेको छ । गठबन्धनले निरन्तर घेराबन्दीमा पारिरहेको भए पनि एमाले सत्ता फेरबदलमा भने लागेको छैन।’

अध्यक्ष ओली र जसपा अध्यक्ष यादवबीच निरन्तर भइरहेको गोप्य भेटवार्ताको सन्दर्भमा नेता भट्टराईले भने, ‘अहिले परिवर्तन विथोल्ने प्रयास भइरहेको छ। अतिवादी शक्तिहरू सक्रिय भइरहेका छन्।

गठबन्धन सरकारले गरेको गलत कामबाट जनतामा उत्पन्न नैराश्यतामा खेलेर राजतन्त्र फर्काउने हर्कत भइरहेको छ। यस्तो परिस्थितिमा जिम्मेवार दलको नेताको हैसियतले परिवर्तनका पक्षधर दलका नेताहरूसँग संवाद र छलफल गर्नुलाई अन्यथा लिनु उपयुक्त हुँदैन।’

प्रधानमन्त्री बन्न एमाले अध्यक्ष ओलीको प्रस्तावलाई जसपा अध्यक्ष यादवले सकारात्मक रूपमा लिँदै उपयुक्त समयमा जवाफ दिने बताएको स्रोतको दाबी छ।

तर, जसपा संसदीय दलका प्रमुख सचेतक प्रदीप यादवले पार्टी गठबन्धन र गठबन्धन सरकारप्रति प्रतिपद्ध रहेको जिकिर गर्दै भने, ‘सत्ता समीकरण परिवर्तनको लागि एमाले अध्यक्ष ओली र जसपा अध्यक्ष यादवबीच गोप्य छलफल भएको भन्ने सम्बन्धमा कुनै सत्यता छैन।

संवाद भइरहेको भन्ने मलाई लागेको छैन। जसपा गठबन्धनप्रति प्रतिबद्ध छ।’ अहिले नै जसपालाई सत्ता समीकरणको त्यस्तो कुनै हतार नभएको र ओलीले प्रधानमन्त्रीको प्रस्ताव गरेको विषयमा समेत आफूलाई कुनै जानकारी नभएको यादवले प्रष्ट पारे।

गत वर्ष असोज २० गते शेरबहादुर देउवा नेतृत्वको पाँच दलीय गठबन्धनको प्रधानमन्त्रीनिवास बालुवाटारमा बैठक बसिरहेको बेला चुनावी तालमेल तथा सिट बाँडफाँट गर्ने विषयमा कुरा नमिलेपछि उपेन्द्र यादव ओली क्याम्पमा छिरेका थिए। असोज २२ गते जसपालाई संघमा १७ सिट र प्रदेशमा ४२ सिटमा सघाउने सहमति भएको थियो।

पार्टीभित्र कुनै छलफल नै नगरी गठबन्धन तोडेको प्रति वरिष्ठ नेता राजेन्द्र श्रेष्ठसहितका अधिकांश नेताहरूले अध्यक्ष यादवको विरोध गरेका थिए। एमालेसँग चुनावी तालमेल गरेको जसपाबाट १२ सिट जित्दा अध्यक्ष यादव भने सप्तरी-२ बाट आफैँ पराजित भएका थिए।

निर्वाचनमा एमालेले धोका दिएको आरोप लगाउँदै यादव निर्वाचनपछि कांग्रेस नेतृत्वको पुरानै गठबन्धनमा फर्किए। गत वैशाख १० मा भएको उपनिर्वाचनमा भने गठबन्धनको सहयोगमा यादव बारा-२ बाट विजयी भए।

तर, गत साउन २३ गते गृह मन्त्रालय र गौर हत्याकाण्ड पीडित संघर्ष समितिबीच पाँच बुँदे सम्झौता भएपछि अध्यक्ष यादव पुनः प्रधानमन्त्री प्रचण्डसँग चिढिएका छन्। गौर हत्याकाण्डमा यादवलाई मुख्य अभियुक्त ठहर्‍याइएको छ। सोही सहमतिबाट बिच्किएका यादवले एमाले अध्यक्ष ओलीसँग सम्बन्ध अगाडि बढाएका छन्।

विगतमा जस्तै अध्यक्ष यादवले पार्टीमा छलफल नै नगरी कुनै गोप्य सम्झौता गर्ने आशंका जसपाभित्रै छ। तर, पार्टीमा संस्थागत निर्णयबिना व्यक्ति एक्लैले दूरगामी महत्वको निर्णय गर्न नसक्ने जिकिर गर्दै जसपा संसदीय दलका प्रमुख सचेतक यादवले भने, ‘पार्टी बैठकले निर्णय गर्छ। पार्टीले उपयुक्त निर्णय गर्छ। पार्टीले अहिले वर्तमान गठबन्धन र सरकारबारे अन्यथा केही सोचेको छैन । गठबन्धनप्रति पार्टी प्रतिबद्ध छ।’

एमालेका ओलीसहित उच्च नेताहरू भने प्रचण्ड नेतृत्वको सरकार ढल्ने सार्वजनिक अभिव्यक्ति दिँदै आएका छन्। तर, अहिलेकै अवस्थामा ओलीले चाहँदैमा सरकार ढल्ने स्थिति छैन। स्वयं एमालेकै कतिपय नेताहरू संसद्को सबैभन्दा ठूलो दल कांग्रेसले नचाहेसम्म प्रचण्ड सरकार ढल्ने अवस्था नरहेको बताउँछन्।

हिमालय टाइम्स दैनिकबाट




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *