छठपर्वको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीको शुभकामना

डिसी नेपाल
३ मंसिर २०८० ६:५२
28
Shares

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले छठपर्वका अवसरमा देशविदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिका कामना गरेका छन्।

छठका अवसरमा आज दिएको शुभकमना सन्देशमा राष्ट्रपतिले नेपाली समाजमा विद्यमान वर्गीय, जातीय, लैङ्गिकलगायत सबै प्रकारका विभेद, कुरीति एवं विसङ्गतिको अन्त्य गरी सम्पूर्ण नेपालीमा राष्ट्रिय एकता अभिवृद्धि गर्न, मौलिक संस्कृतिको संरक्षण तथा संवर्द्धन गर्न र आपसी सद्भाव थप सुदृढ पार्न प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन्।

प्रकृतिको पूजा गरिने छठपर्वले हाम्रो समाजमा विद्यमान सबै प्रकारका सामाजिक विभेद र विसंगतिलाई अन्त्य गर्न सहयोग पुग्ने विश्वास सन्देशमा राष्ट्रपतिले व्यक्त गेका छन्।

यसै अवसरमा सबै नेपालीमा शुभकामना व्यक्त गर्दै जारी गरिएको सन्देशमा उपराष्ट्रपति रामसहाय प्रसाद यादवले छठपर्वबाट सामूहिकता र एकतालाई बढावा दिनुका साथै व्यक्तिको मन, वचन र कर्ममा पवित्रता एवं शुद्धताको सञ्चार हुने बताएका छन्।

यसै उपलक्ष्यमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिएको शुभकामना सन्देशमा छठपर्वले राष्ट्रिय एकता सुदृढ गर्न, आपसी विश्वास र सम्बन्ध थप प्रगाढ तुल्याउन मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन्।

छठका अवसरमा तराईवासी जनसमुदायका साथै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा हार्दिक शुभकामना व्यक्त गर्दै भूगोल र क्षेत्रफलको हिसाबले नेपाल सानो भए तापनि भाषा, कला, संस्कृति, चाडपर्व, वेशभूषा र सभ्यताका दृष्टिले विश्वमै विशाल र वैभवशाली भएको बताएका छन्।

“यो यथार्थ हाम्रा संस्कार, संस्कृति र ऐतिहासिक तथ्यहरूले प्रमाणित गर्छन्, नेपालको संविधानले नेपाली समाजको बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र क्षेत्रीय विशेषतालाई आत्मसात् गर्दै विविधतासहितको एकतालाई राष्ट्रिय गौरवका रूपमा आत्मसात गरेको छ”, सन्देशमा भनिएको छ।

यस पर्वले प्रकृति र मानवबीचको सम्बन्ध जीवन्त तुल्याउनका साथै जीवनउपयोगी प्राकृतिक वस्तुहरूको सम्मान एवं संरक्षण, उत्पादन एवं श्रम संस्कृतिको विकासका निम्तिसमेत महत्त्वपूर्ण भूमिका निर्वाह गरेको प्रधानमन्त्रीले सन्देशमा उल्लेख गरेका छन्।

यसैगरी छठ पर्वको अवसरमा सभामुख देवराज घिमिरे र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पनि शुभकामना व्यक्त गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.