रसियाबाट माओवादी पूर्वलडाकुको मार्मिक सन्देश : हिजो देश परिवर्तन गर्न लडियो, आज परिवार पाल्न लड्दैछु
काठमाडौं। रुस र युक्रेनबीच जारी युद्धमा नेपालका युवाहरु रसियन सेनामा भर्ना भएर युद्धमा सहभागी हुने क्रम चलिरहेको छ।
केही समय अघि रसियन सेनामा भर्ना भएका एक नेपाली युवा डिसी नेपालको सम्र्पकमा आएका थिए। उनले आफू माओवादी जनयुद्धमा सहभागी भएको पूर्वलडाकु बताउँदै हाल रसिया पुगेर त्यहाको सेनामा भर्ना भएको बताएका थिए।
उनी लगायत नेपालका सयौं युवाहरु रसियन सेनामा भर्ना भएर युद्धग्रस्त क्षेत्रमा तैनाथ भएको भिडियो सार्वजनिक भइरहेको छ। नेपालका युवाहरु भिजिट भिषामार्फत रसिया पुगेर सेनामा भर्ना हुने गरेको पाइएको छ।
केही समय अघि रसियन सेनामा सहभागी भएका एक नेपाली युवा विवेक खत्रीलाई युक्रेनी सेनाले कब्जामा लिएको भिडियो पनि सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो। यद्यपि रसियास्थित नेपाली दूतावासले यसको आधिकारिक रुपमा पुष्टि गरेको छैन।
यसै क्रममा नेपालमा माओवादीले सञ्चालन गरेको दश वर्षे जनयुद्धमा सहभागी भएका पूर्व लडाकु रसियन सेनामा भर्ना भएको तस्बिर सार्वजनिक गर्दै मार्मिक स्टाटस लेखेका छन्।
म्याग्दी मंगला गाउँपालिका-४ का माओवादी पूर्वलडाकु रमेश विक डायमण्ड रसियन सेनामा भर्ना भएको तस्बिरसामाजिक सञ्जालमार्फत शेयर गर्दै परिवार पाल्नुपर्ने बाध्यात्मक अवस्थाले रसियन सेनामा भर्ना भएको जानकारी दिएका छन्।
उनले नेपालमा जिवीकोपार्जनको कुनै विकल्प नभएपछि बाध्य भएर रसियन सेनामा भर्ना भएको बताउँदै लेनिनको देशको सेना भएको फेसबुकमार्फत जानकारी गराएका छन्।
उनले लेनिनको देशवाट अभिवादन गर्दै लेखेका छन्,‘राईफल त हिजो दशवर्षे जनयुद्ध मा पनि बोकेकै हो र आज पनि बोकिएको छ तर उद्देश्य नितान्त भिन्न छ, अर्थात हिजो नेपाली जनताको मुक्तिको लागी र आज पराई भुमिको रक्षा÷विस्तार एवम् आफ्नो पारिवारिक व्यवस्थापनको लागि।’
उनले आफू विप्लव नेतृत्वको पार्टीको म्याग्दी जिल्ला सेक्रेटरीको भूमिका निर्वाह गरेको समेत जनाएका छन्। राजनीति नितान्त सेवाको रुपमा गरी त्यसको दुरुपयोग गर्न नसक्दा नेपालमा परिवार पाल्न समस्या भएको उनको भनाइ छ।
‘राजनीति पनि गरौ त्यसैको सहारामा मिलाएर पारिवारिक व्यवस्थापन पनि गरौं भन्ने सोच राखेको भए पार्टी विभाजन पछि ०७१ मै विप्लव नेतृत्वको नेकपाको म्याग्दी जिल्ला सेक्रेटरी भइसकिएको थियो, अहिलेसम्म सिसिएम वनिसकिन्थ्यो।’, उनले लेखेका छन्, ‘त्यसैको सहारामा सानोतिनो व्यवसाय गरेर सामान्य पारिवारिक व्यवस्थापन गर्न त्यति कठिन थिएन तर फेयर राजनीति गर्न खोज्ने,आफ्नो कारण आफू स्वयम र पार्टीलाई कुनै दाग नलागोस भन्ने पवित्र सोच राख्ने म जस्तो पात्रले दायाँबायाँ सोच्ने प्रश्नै रहेन।’
उनले पार्टीमा रहेर पार्टीको आडमा अनुचित आर्थिक उपार्जन गर्नु भन्दा रसियन सेनामा भर्ना भएर जोखिमपूर्ण युद्धमा सहभागी भएर पारिवारिक व्यवस्थापन गर्ने चुनौतीपूर्ण निर्णय लिएको बताएका छन्।
उनले लेखेका छन्, ‘पार्टीको नाममा रकम जोरजाम गरी पारिवारिक व्यवस्थापन गर्दै आफु र पार्टीलाई समेत वदनाम गर्नुभन्दा वरु विदेश गई रगत,पसिना वगाएर परिवारको उचित व्यवस्थापन सँगै पार्टी आन्दोलनलाई आर्थिक,नैतिक,वैचारिक सहयोग एवम् समर्थन गर्नु नै वेहत्तर लाग्यो र अर्को चुनौतीपूर्ण यात्रा सुरु गर्ने कठोर निर्णय गरियो।’
यो पनि पढ्नुस्
नेपालबाट युद्धमा सहभागी हुन रसियन सेनामा जानेको लर्को, सरकार बेखबर







डिसी नेपाल








Facebook Comment